सिरहा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। उनले आगामी मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य भइरहेको जानकारी दिएका छन्।
मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमा २१ सेकेन्डको भिडियो सार्वजनिक गर्दै कमला पुल सञ्चालनका लागि अब धेरै समय प्रतीक्षा गर्नुनपर्ने दाबी गरेका हुन्।कमला पुल निर्माणमा भइरहेको ढिलाइ र त्यसका कारण नागरिकले भोग्दै आएको सास्तीबारे अनलाइनखबरले बिहीबार ‘कमला पुलमा राजनीति : नेता–मन्त्री ढाँटेको ढाँट्यै, नागरिकका दुःख ज्युँका त्युँ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचार सार्वजनिक भएपछि मन्त्री लम्सालले पुल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्।
मन्त्रीका अनुसार पुलका बाँकी तीन स्पानमध्ये पहिलो स्पानको स्ल्याब ढलान सम्पन्न भइसकेको छ। बाँकी दुई स्पानको स्ल्याब कास्टिङ आगामी पाँच दिनभित्र सम्पन्न गर्ने कार्यतालिका रहेको उनले बताएका छन्।त्यसैगरी, पुल निर्माणसँगै नदी नियन्त्रणको कामसमेत निरन्तर भइरहेको उनको भनाइ छ। निर्माण कार्यलाई थप तीव्रता दिँदै निर्धारित समयभित्रै पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको मन्त्रीले उल्लेख गरेका छन्।‘१५ वर्षदेखि रुग्ण बनेको आयोजनाको सञ्चालन हाम्रो प्राथमिकतामा छ,’ मन्त्री लम्सालले फेसबुकमा लेखेका छन्।
सिरहा र धनुषालाई जोड्ने कमला पुल लामो समयदेखि निर्माण सम्पन्न हुन नसक्दा दुवै जिल्लाका नागरिकले आवतजावतमा सास्ती भोग्दै आएका छन्। पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा, यात्रु तथा व्यवसायी प्रत्यक्ष प्रभावित हुँदै आएका छन्।मन्त्रीको पछिल्लो प्रतिबद्धतासँगै लामो समयदेखि पुल सञ्चालनको प्रतीक्षामा रहेका स्थानीयमा आशा पलाएको छ। अब निर्धारित समयमै निर्माण सम्पन्न भएर पुल सञ्चालनमा आउँछ वा आउँदैन भन्ने चासो बढेको छ