मध्यपुरथिमीमा सुथसिया जात्राको रौनक, सिन्दूर छराउँदै २६ खटसहित परिक्रमा


काठमाडौँ– बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुरथिमीमा मंगलबार बिहानदेखि परम्परागत सुथसिया (सिन्दूर) जात्राको रौनक छाएको छ। आज (२०८२ साल वैशाख २ गते) बिहानैदेखि सुरु भएको यस जात्रामा श्रद्धालुहरूले धिमे र मुस्या बाजाको तालमा रमाइलो नाचगान गर्दै सिन्दूर छर्केर उत्सव मनाएका छन्।

बिहानीको जात्रा’ भनेर चिनिने यो विशेष पर्वमा विभिन्न टोलटोलका देवताका खटहरू ल्याएर मध्यपुरथिमीस्थित ऐतिहासिक बालकुमारी मन्दिर परिसरमा परिक्रमा गरिन्छ। यस वर्ष २६ वटा खट सहभागी भएका छन्। परम्पराअनुसार अघिल्ला वर्षहरूमा ३२ वटा खट सहभागी हुने चलन थियो, तर हाल व्यवस्थापन र जनशक्तिको कारण संख्या घटेको बताइएको छ।

जात्रामा धिमे बाजा, नाचगान, तेलको बत्ती (चिराग) सहित सुसज्जित खटहरू बालकुमारी मन्दिर वरिपरि परिक्रमा गरिन्छ। खट उचाल्नुअघि नाइके प्रधान बाट अनुमति लिने परम्परा यस वर्ष पनि यथावत् पालना गरिएको छ।

बालकुमारी, कालिका (बालाखु), विष्णुवीर, दक्षिण बाराही, सिद्धिकाली लगायत विभिन्न टोलटोलका प्रमुख देवताका खटहरू जात्रामा सहभागी भएका थिए। जात्राको क्रममा स्थानीय बासिन्दा, भक्तजन र दर्शकहरूबीच अत्यधिक उत्साह देखिएको थियो।

सुथसिया जात्रा भक्तपुरको मौलिक सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको अद्वितीय प्रतीकका रूपमा आज पनि उल्लासपूर्वक मनाइँदै आइरहेको छ। यो जात्राले स्थानीय पहिचान, एकता र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार