जितपुरसिमरा उपमहानगर–१५ स्थित श्री जनकल्याण आधारभूत विद्यालय दुई वर्षअघि झन्डै बन्द हुन लागेको थियो। जीर्ण भवन, भत्किएका शौचालय, शिक्षक अभाव र न्यून विद्यार्थी संख्या समस्याले विद्यालय अस्तव्यस्त अवस्थामा पुगेको थियो। त्यतिबेला यस विद्यालयमा केवल ३५–४० जना विद्यार्थी मात्र अध्ययन गर्थे।
तर, प्रधानाध्यापक गोकुल कुँवर ले ‘हाम्रो विद्यालय हामी आफै बनाऔँ’ अभियान सञ्चालन गरेपछि विद्यालयको हालत परिवर्तन भयो। उनले पूर्वविद्यार्थी, शिक्षक, अभिभावक, समाजसेवी र स्थानीय संघसंस्थासँग मिलेर सुधारको काम सुरु गरे। अहिले विद्यालयमा १३१ जना विद्यार्थी अध्ययन गर्दैछन्। पुस्तकालय, व्यवस्थित बालविकास कक्षाकोठा, विज्ञान प्रयोगशाला र पर्याप्त खेलसामग्री उपलब्ध छन्।
भौतिक संरचनामा सुधार ल्याउन प्रअ कुँवरले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर नयाँ कक्षाकोठा निर्माण गरिरहेका छन्। विद्यालयका लागि उपमहानगरले गत वर्ष ६२ लाख रुपैयाँ लागतमा दुईतले भवनको ठेक्का लगाएको थियो, तर ठेकेदारले काम अलपत्र छोडेपछि निर्माण रोकिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण केसी का अनुसार, प्रअ कुँवरको निरन्तर मेहनतले विद्यालय सुधारमा मुख्य भूमिका खेलेको छ। प्रअ कुँवर बिहानदेखि बेलुका विद्यालयमै खटेर शिक्षक र विद्यार्थीलाई प्रेरित गर्छन्।
यसैगरी, जितपुरसिमरा–२ स्थित श्री सरस्वती आधारभूत विद्यालय पनि घटुवा अवस्थामा रहे पनि अहिले नमुना विद्यालय बन्दै गएको छ। व्यवस्थित कक्षाकोठा, अतिरिक्त क्रियाकलाप, खेलकुद र आकर्षक विद्यालय पोशाकले विद्यार्थीको सहभागिता बढाएको प्रअ रुद्रप्रसाद ढकाल बताउँछन्।
उपमहानगरभित्र ६० वटा सामुदायिक विद्यालयमा १६ हजार ७ सय ४८ जना विद्यार्थी अध्ययन गर्छन्। धेरै विद्यालयमा शिक्षक–विद्यार्थी अनुपात असन्तुलित छ। यद्यपि, निःशुल्क शिक्षा, पोसाक, दिवा खाजा र पर्याप्त खेलसामग्रीको कारण विद्यार्थी संख्या बढ्दै गए पनि गुणस्तरीय शैक्षिक नतिजा अझै चुनौतीपूर्ण बनेको छ।
विद्यालय सुधारमा प्रअ कुँवर जस्ता समर्पित व्यक्तित्व र समाजको सहभागिताले सामुदायिक विद्यालयमा नयाँ जीवन दिएको उदाहरण प्रस्तुत गर्दछ।