काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले देशको प्रधानमन्त्रीले संवेदनशील कूटनीतिक विषयमा बोल्नुअघि धेरै पटक सोच्नुपर्ने बताएका छन्। कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झन् आवश्यक हुने उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो वा व्यक्तिगत विचार भन्ने स्पष्ट हुनुपर्ने बताएका छन्। साथै, उनले रास्वपाको धारणा पनि सार्वजनिक गर्न माग गरेका छन्। प्रधानमन्त्री बालेनले संसद्मा भारतले नेपालको भूमि मिचिरहेको मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूलाई हालै थाहा भएको बताएका थिए। त्यसप्रति प्रतिक्रिया जनाउँदै शर्माले ‘सीमा मिचेका हौं कि मिचाइमा परेका हौं, हामी थप विभक्त हुन लागेका हौं ?’ भन्दै प्रश्न उठाएका छन्।