काठमाडौँमा चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ। अहिले छपाइ हुन बाँकी करिब २९ लाख लाइसेन्सलाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ। यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने प्राथमिक लक्ष्य निर्धारण गरिएको छ भने बाँकी १७ लाख लाइसेन्स छपाइ प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले छपाइमा कुनै अवरोध नआउने गरी सबै बाँकी लाइसेन्स छिटो छाप्न निर्देशन दिएका छन्। मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रमको विस्तृत कार्ययोजना तयार पारेको छ।
सेवाग्राहीलाई सहजता प्रदान गर्न यातायात व्यवस्था विभागले दैनिक छपाइ भएका र वितरण गरिने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ। साथै, छपाइ सम्पन्न लाइसेन्स हुलाक सेवामार्फत देशभरका विभिन्न यातायात कार्यालयमा छिटो पठाइने व्यवस्था गरिएको छ। यही गतिमा काम अघि बढेमा लामो समयदेखि थाँती रहेको लाइसेन्स वितरणको समस्या निकट भविष्यमै पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ।