• २०८३ बैशाख १५ गते मङ्गलवार
  • Preeti To Unicode

नेपालको कृषि अझै परम्परागत, उत्पादकत्व दक्षिण एसियाली औसतभन्दा न्यून

नेपालको कृषि अझै परम्परागत, उत्पादकत्व दक्षिण एसियाली औसतभन्दा न्यून

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्रले नेपालको कृषि क्षेत्र अझै परम्परागत अवस्थामा रहेको र यसको उत्पादकत्व दक्षिण एसियाली मुलुकहरूको तुलनामा न्यून रहेको देखाएको छ । स्थितिपत्र अनुसार कुल जनसंख्याको ६२ प्रतिशतले प्रमुख पेसाका रूपमा कृषि अँगाले पनि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा यसको योगदान घट्दो क्रममा छ । एक दशकमा कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर ३ प्रतिशत मात्र रहेको छ भने आर्थिक वर्ष २०७२/७३ मा २८.४ प्रतिशत रहेको कृषि क्षेत्रको जीडीपी योगदान आव २०८१/८२ मा घटेर २५.२ प्रतिशतमा सीमित भएको छ । प्रतिवेदनले अर्थतन्त्र कृषिबाट औद्योगिकीकरणतर्फ नगई सिधै सेवा क्षेत्रतर्फ विस्तार भएको औँल्याएको छ । उत्पादकत्वका हिसाबले पनि नेपाल दक्षिण एसियाली औसतभन्दा पछाडि देखिएको छ, जहाँ प्रतिहेक्टर धान उत्पादन ४.१९ टन, गहुँ ३ टन र मकै ३.४६ टन मात्र रहेको छ । खेतीयोग्य भूमिको न्यून उत्पादकत्व र परम्परागत कृषि प्रणालीलाई मुख्य समस्याका रूपमा चिनाउँदै मन्त्रालयले कृषिको आधुनिकीकरण र व्यावसायीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ । कृषिलाई उद्योग र पर्यटनसँग प्रभावकारी रूपमा जोड्न सके उत्पादनमूलक रोजगारी वृद्धि गर्न सकिने उल्लेख गर्दै उच्च मूल्यका बाली, पशुपालन, बगैँचा, कृषि प्रशोधन उद्योग तथा भौगोलिक विविधताअनुसार क्षेत्रविशेष उत्पादनमा लगानी बढाएर आयात प्रतिस्थापन गर्न सकिने सम्भावना औँल्याइएको छ । साथै आयातित कच्चापदार्थमा उच्च निर्भरता र न्यून प्रविधि प्रयोगका कारण औद्योगिक क्षेत्र कमजोर रहेका बेला कृषिको आधुनिकीकरणमार्फत उत्पादकत्व बढाउनु अपरिहार्य रहेको प्रतिवेदनले जोड दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार