काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल तथा चार विदेशी नागरिकलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। यस प्रकरणमा अख्तियारले ७ करोड ७८ लाख रुपैयाँ विगो दाबी गरेको जनाएको छ।
अनुसन्धानका क्रममा महरा र उनका छोराको चिनियाँ नागरिकसँगको सम्बन्ध तथा सुन तस्करीसँग जोडिएको कारोबार खुलेपछि मुद्दा दायर गर्ने निर्णय गरिएको थियो। २०७९ सालमा भेपको आवरणमा सुन भित्र्याउने प्रयास गर्दा भन्सारले बरामद गरेको घटनापछि अनुसन्धान अघि बढाइएको थियो।
सोही अनुसन्धानबाट महरा र उनका छोरा लगायत अन्य व्यक्तिहरूको संलग्नता पुष्टि भएको अख्तियारको दाबी छ।