उपसभामुखको आसनमा जेन-जी रुवी

उपसभामुखको आसनमा जेन-जी रुवी

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुख पदमा २६ वर्षीया रूबीकुमारी ठाकुर निर्वाचित हुने प्रक्रिया पूरा भएको छ। औपचारिक घोषणा मात्र बाँकी रहेको यो निर्णयसँगै नेपालमा जेन–जी पुस्ताको राजनीतिक उपस्थिति थप बलियो भएको देखिएको छ। सामान्य मधेशी परिवारबाट आएकी ठाकुर कम उमेरमै संघीय संसद्को दोस्रो उच्च पदमा पुग्ने अवस्थामा पुगेकी छन्।

धनुषाकी रूबीकुमारी ठाकुरलाई श्रम संस्कृति पार्टीले समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनाएको हो। राजनीतिमा भर्खरै प्रवेश गरेकी उनी पहिले इन्जिनियरिङ डिप्लोमा पूरा गरी डिजाइन तथा कन्सल्टेन्सी क्षेत्रमा काम गरिरहेकी थिइन्। जेन–जी आन्दोलनपछि राजनीतिमा सक्रिय बनेकी उनले समाज र विशेषगरी मधेशका सामाजिक समस्याहरू समाधान गर्न योगदान दिने उद्देश्य व्यक्त गरेकी छन्।

उपसभामुख पदका लागि उनको उम्मेदवारी श्रम संस्कृति पार्टीको प्रस्तावमा र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा अघि बढाइएको थियो। अन्तिम समयमा भएको राजनीतिक सहमतिपछि उनको मनोनयन दर्ता भएको हो। प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा पनि उम्मेदवार थिइन्।

राजनीतिमा छोटो समयमै यस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नु आफ्नो लागि ‘सरप्राइज’ भएको बताउँदै ठाकुरले आफूलाई विश्वास गर्ने सबै पक्षप्रति आभार व्यक्त गरेकी छन्। उनले आफूलाई यो स्थानसम्म पुर्‍याउन पार्टी नेतृत्वको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अब देशको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहने बताइन्।

उपसभामुख बनेपछि ठाकुर संवैधानिक परिषद्को सदस्यसमेत बन्नेछिन्, जहाँ प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र अन्य शीर्ष नेतृत्वसँगै महत्वपूर्ण संवैधानिक नियुक्ति सिफारिस गर्ने प्रक्रिया समावेश हुन्छ। साथै, संसद्भित्र कानुन निर्माण र संसदीय प्रक्रियामा उनको भूमिका रहनेछ।

छोटो राजनीतिक यात्रामै उच्च जिम्मेवारी पाएकी रूबीकुमारी ठाकुरलाई धेरैले नयाँ पुस्ताको उदयको प्रतीकका रूपमा हेरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार