लमजुङ कृषि क्याम्पसमा चौथो र छैटौँ सेमेस्टरमा अध्ययनरत करिब २०० विद्यार्थीले नियमित परीक्षाको नयाँ कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेका छन्। जेनजी आन्दोलन र पछिल्लो निर्वाचनका कारण पढाइ प्रभावित भई कोर्स नै पूरा नभई परीक्षा लिइएको भन्दै विद्यार्थीहरूले उक्त परीक्षाले आफ्नो शैक्षिक भविष्य अन्योलमा पारेको बताएका छन्। सोही कारण उनीहरूले पुनः नियमित परीक्षा सञ्चालन गर्न डिन कार्यालयसँग आग्रह गरेका हुन्।
विद्यार्थीहरूले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै क्याम्पस प्रशासनले आफ्नो माग बेवास्ता गरेपछि न्यायका लागि डिन कार्यालयको शरणमा जान बाध्य भएको बताएका छन्। स्ववियू कार्यवाहक सभापति आशिष पौडेलले कोर्स पूरा नभई लिइएको परीक्षालाई कुनै पनि हालतमा मान्यता दिन नसकिने स्पष्ट पार्दै समयमै कोर्स नसकिएको अवस्थामा नियमअनुसार नयाँ कार्यतालिका बनाएर नियमित परीक्षा सञ्चालन गर्नुपर्ने जिकिर गरे।
तर डिन कार्यालयले भने नियमित परीक्षा पुनः सञ्चालन गर्न नसकिने अडान लिँदै केवल मौका परीक्षाको व्यवस्था मात्र सम्भव हुने जनाएको छ। यसप्रति विद्यार्थी असन्तुष्ट छन् र मौका परीक्षा मात्रले समस्या समाधान नहुने भन्दै नियमित प्रक्रियाबाटै पुनः परीक्षा हुनुपर्ने अडान राखिरहेका छन्।