काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले उनीसँग दुई दिन बयान लिएको छ । मंगलबार र बुधबार गरी बयान लिइएको पुष्टि गर्दै समिति स्रोतले आवश्यक परे पुनः बोलाउन सकिने जनाएको छ ।
समितिले बयानअघि गुरुङमाथि लागेका आरोपबारे सम्बन्धित निकायसँग बुझ्ने, सम्पत्ति विवरण अध्ययन गर्ने तथा विभिन्न कागजात केलाउने काम गरेको जनाएको छ । मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन् ।
समितिले गुरुङसँग बयान लिएसँगै छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ । हाल प्रतिवेदन लेखनको काम भइरहेको र केही दिनभित्र सरकारलाई प्रतिवेदन बुझाइने तयारी भइरहेको स्रोतको भनाइ छ । समितिलाई दिइएको १५ दिनको समयसीमा सकिन लागेकाले प्रतिवेदनलाई अन्तिम रूप दिने काम तीव्र पारिएको बताइएको छ ।
यसअघि समितिका अध्यक्ष भण्डारीले दोषी वा निर्दोष जे भए पनि प्रमाणका आधारमा स्पष्ट निष्कर्षसहित प्रतिवेदन बुझाइने बताएका थिए ।
सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौंबाट पक्राउ परेपछि गुरुङ विवादमा तानिएका थिए । भट्टसँग साझेदारी सम्बन्ध देखिएको, सम्पत्ति विवरणमा सेयर लुकाएको तथा विवादास्पद व्यापारीको कम्पनीमा लगानी रहेको विषय सार्वजनिक भएपछि गुरुङले ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।
राजीनामा दिँदै गुरुङले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै निष्पक्ष छानबिनको माग गरेका थिए । सरकारले उनको राजीनामापछि ३१ वैशाखमा छानबिन समिति गठन गरेको थियो । त्यसयता गृहमन्त्रालय प्रधानमन्त्रीकै मातहतमा सञ्चालन हुँदै आएको छ । समितिले निर्दोष ठहर गरे गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा पनि चलिरहेको छ ।