इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भूभाग खाली गर्न आदेश जारी गरेको छ। नयाँ आक्रमणको तयारीस्वरूप उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको हो।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी लेबनानका बासिन्दालाई जहरानी नदीको उत्तरतर्फ सर्न आग्रह गरेको छ। बीबीसीका अनुसार उक्त नदी इजरायली सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको छ। सेनाले आदेश उल्लंघन गरे कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
आईडीएफले हिज्बुल्लाहमाथि पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। बीबीसीका अनुसार १७ अप्रिलमा लागू भएको युद्धविरामपछि यो सबैभन्दा ठूलो खाली गराउने आदेश हो। यसले लेबनानको झन्डै १४ प्रतिशत भूभाग प्रभावित हुने बताइएको छ।
यसअघि बुधबार इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो। यता हिज्बुल्लाहले पनि इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आफ्ना लडाकु र इजरायली सैनिकबीच झडप भएको जनाएको छ।