इलामको सूर्योदय नगरपालिकाले चिया क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण नीतिगत परिवर्तन गर्दै चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ। ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई प्रति किलो रु ४० न्यूनतम मूल्य दिनुपर्ने र ४० प्रतिशतभन्दा कम गुणस्तरको चिया नटिप्ने व्यवस्था रहेको थियो। तर किसान र उद्योगी दुवैको माग अनुसार खुला बजार प्रणाली लागू गर्ने उद्देश्यले नगरसभाले उक्त व्यवस्था संशोधन गरेको हो। नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालका अनुसार १८औँ नगर सभाको तेस्रो बैठकले झन्झटिला र व्यवहारिक रूपमा कठिन देखिएका सातवटा ऐन संशोधन गर्दै चिया क्षेत्रमा नयाँ नीति अपनाएको छ।
नगरसभाले विनियोजन ऐन २०८२, आर्थिक ऐन २०८२, शिक्षा, स्वास्थ्य, सवारी तथा यातायात, नगर प्रहरी तथा सहकारी ऐनलगायत संशोधन विधेयक पारित गरेको छ। नगर क्षेत्रका ६३ वटा साना–ठूला चिया उद्योग रहेका छन् र चिया मूल्य निर्धारण तथा बजारीकरण संघीय सरकारले गर्नुपर्ने भन्दै नगरपालिकाले त्यसका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ। साथै, चिया क्षेत्रका समस्या समाधान गर्न चिया शाखा सञ्चालन गर्ने तयारी गरिएको छ। नगरले नेपाल चिया विकास निगमअन्तर्गत ५० वर्षका लागि लिजमा दिइएको चिया बगान स्थानीय सरकारको स्वामित्वमा ल्याउन संघीय सरकारलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ।
त्यस्तै, सडक मर्मतका लागि १४ वटै वडामा दुई–दुई लाख रुपैयाँ विनियोजन गरिएको छ भने फोहोरमैला व्यवस्थापनका लागि स्विस सरकार, प्रदेश सरकार र स्थानीय सरकारको करिब २२ करोड लगानीमा आधुनिक व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ। नगरले पारदर्शिता बढाउँदै बेरुजु शून्यमा झार्ने लक्ष्य राखेको छ। सूचना अधिकारीका अनुसार नगरका महत्वपूर्ण कार्यक्रमहरू प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गर्दै सुशासनलाई बलियो बनाइएको छ।