अमेरिका–इरानबीच थप वार्ताका लागि आग्रह

अमेरिका–इरानबीच थप वार्ताका लागि आग्रह

पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले आइतबार इस्लामाबाद मा भएको वार्ता निष्कर्षविहीन बनेपछि विश्व समुदायले अमेरिका र इरानलाई संवाद जारी राख्न आग्रह गरेको छ।

वार्ताको मध्यस्थता गरेको पाकिस्तान ले युद्धविराम कायम राख्न र दुवै पक्षबीच विश्वासको वातावरण निर्माण गर्न अन्तर्राष्ट्रिय समुदायको भूमिका महत्त्वपूर्ण हुने बताएको छ। पाकिस्तानका विदेशमन्त्री इशाक दार ले आगामी दिनमा पनि संवाद र कूटनीतिक पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

युरोपेली संघ ले पनि कूटनीतिक समाधान नै एकमात्र विकल्प भएको भन्दै वार्तालाई निरन्तरता दिन आग्रह गरेको छ।

त्यस्तै, रूस ले मध्यस्थताको भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिन ले द्वन्द्वको राजनीतिक तथा कूटनीतिक समाधानका लागि सहयोग गर्न इच्छुक रहेको बताएका छन्।

बेलायत ले वार्ता निष्कर्षविहीन हुनु निराशाजनक भए पनि कूटनीतिक प्रयास जारी राख्नुपर्नेमा जोड दिएको छ। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङ ले वार्ता असफल हुनु दुःखद भए पनि संवाद रोक्न नहुने बताएका छन्।

त्यसैगरी अस्ट्रेलिया का विदेशमन्त्री पेनी वोङ ले तत्काल प्राथमिकता युद्धविराम कायम राख्नु र पुनः वार्तामा फर्किनु रहेको उल्लेख गरेका छन्।

समग्रमा, वार्ता असफल भए पनि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक प्रयासलाई निरन्तरता दिँदै युद्ध रोक्ने दिशामा दबाब बढाइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार