इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड का साना बचतकर्ताले बचत फिर्ता पाउन थालेका छन्। कोशी प्रदेश सरकार द्वारा गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यलाई प्राथमिकतामा राख्दै रकम फिर्ता गरेको हो। समितिका अनुसार २८७ जना बचतकर्ताको कुल २८ लाख ५७ हजार रुपैयाँ उनीहरूको बैंक खातामा पठाइएको छ।
समितिले सहकारीको व्यवस्थापन सम्हालेपछि हालसम्म १ करोड ८७ लाख रुपैयाँ ऋण असुल गरिसकेको छ भने अझै ४२ करोड ६० लाख रुपैयाँभन्दा बढी असुल गर्न बाँकी रहेको छ। बचत फिर्ताका लागि २४ करोड ८८ लाख रुपैयाँ बराबरको निवेदन परिसकेको अवस्थामा समितिले चरणबद्ध रूपमा रकम फिर्ता गर्ने योजना बनाएको छ। अब २० हजारसम्मको रकम फिर्तापछि १ लाख रुपैयाँसम्मका बचतकर्तालाई पनि रकम उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ।
सरकारले २०८१ पुस २३ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि समिति मार्फत सम्पत्ति व्यवस्थापन, ऋण असुली तथा धितो लिलाम प्रक्रिया अघि बढाइएको हो। आवश्यक परे सहकारी र सञ्चालकहरूको सम्पत्ति लिलाम गरेर समेत बचत फिर्ता गरिने बताइएको छ। प्रदेश सरकारका अनुसार यसरी सरकारी पहलमा बचत फिर्ता गर्ने काम नेपालमै पहिलोपटक सुरु भएको हो।