ओलीको शल्यक्रिया सकियो, पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सकियो, पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा सफलतापूर्वक शल्यक्रिया गरेर निकालिएको छ।

त्रिवि शिक्षण अस्पतालमा डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको चिकित्सक टोलीले गरिएको शल्यक्रियामा करिब २२ एमएमको ढुंगा निकालिएको हो। शल्यक्रिया सफल भएपछि उनलाई आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ।यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओलीलाई स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पतालमा भर्ना गरिएको थियो। उनी पक्राउपछि त्रिवि शिक्षण अस्पतालमै उपचाररत थिए।

उनको पक्राउपछि पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।सोही मुद्दामा सर्वोच्च अदालतले २३ चैतमा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसम्बन्धी अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो। अनुसन्धान समयमा नसकिएमा शर्तसहित रिहा गर्न पनि आदेशमा उल्लेख थियो।

अदालतको आदेशपछि प्रहरी प्रशासनले उनलाई पत्नी शाक्यको जिम्मा लगाएको थियो। यद्यपि स्वास्थ्य कारणले उनी अस्पतालमै बसेर शल्यक्रिया गराएका हुन्।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार