• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

दसैँसम्म सिद्धबाबा सुरुङ मार्गमा सवारी सञ्चालन गर्ने लक्ष्य

दसैँसम्म सिद्धबाबा सुरुङ मार्गमा सवारी सञ्चालन गर्ने लक्ष्य

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत पुगेको छ । सुरुङ ‘ब्रेकथ्रु’ भएसँगै निर्माण कार्यले तीव्रता पाएको आयोजना प्रमुख नवराज बास्तोलाले बताएका छन् । हाल सुरुङको भित्री भागमा भुइँ ढलान, भित्तो लेपन तथा लाइनिङ सम्बन्धी १५२० मिटर काम सम्पन्न भइसकेको छ भने इन्भर्ट कार्य र नालीको बेस निर्माण पनि पूरा भइसकेको छ । सुरुङभित्र सडक निर्माण आगामी साउन अन्तिमसम्म सक्ने लक्ष्य राखिएको छ भने बाहिरी काम सम्पन्न गरेर आगामी दसैँसम्म सवारी सञ्चालन गर्ने तयारी गरिएको छ ।

यो आयोजना China State Construction Engineering Corporation (सीएससीईसी)सँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा २०८३ चैतसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । हाल दैनिक २५० भन्दा बढी कामदार परिचालित छन् । सुरुङ सञ्चालनका लागि आवश्यक कन्ट्रोल भवन उत्तर र दक्षिण प्रवेशद्वारमा निर्माणाधीन छन्, जहाँबाट सुरुङभित्रको गतिविधि, दुर्घटना, प्रदूषण, ध्वनि तथा हावाको अवस्था निगरानी गर्न सकिनेछ । साथै, निर्माण सम्पन्नपछि पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मा पनि सोही कम्पनीले लिनेछ ।

सुरक्षाका लागि आवश्यक उपकरण, भेन्टिलेसन, वायरिङ तथा अग्नि नियन्त्रण सामग्रीमध्ये केही नेपाल भित्रिसकेका छन् भने केही केरुङ नाकामा आइपुगेका छन् । भन्सार प्रक्रिया छिटो बनाउन कूटनीतिक पहल भइरहेको छ । परियोजना अन्तर्गत दोभान क्षेत्रतर्फ पहिरो नियन्त्रण र ढुङ्गा खस्ने जोखिम न्यूनीकरणका लागि रकनेट तथा अन्य संरचना निर्माण गरिनेछ । १ हजार १२६ मिटर लम्बाइ, साढे १० मिटर चौडाइ र करिब ७ मिटर उचाइको दुई लेन सुरुङ मार्ग सञ्चालनमा आएपछि हाल जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रको यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार