पश्चिम एसियाको अवस्था सहज बन्दै, खाडीमा नयाँ श्रम स्वीकृति खोल्ने तयारी

पश्चिम एसियाको अवस्था सहज बन्दै, खाडीमा नयाँ श्रम स्वीकृति खोल्ने तयारी

काठमाडौँ — परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी)ले खाडी क्षेत्रमा नयाँ श्रम स्वीकृति खोल्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । पश्चिम एसियामा अमेरिका–इजरायल–इरानबीच बढेको तनावका कारण रोकिएको श्रम स्वीकृति पुनः सञ्चालन गर्ने तयारी गरिएको हो ।

परराष्ट्र सचिव अमृत राईको अध्यक्षतामा सोमबार बसेको इआरटी बैठकले क्षेत्रीय अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै श्रम स्वीकृति खुला गर्न सुझाव दिएको हो । सरकारले पश्चिम एसियाको परिस्थितिअनुसार नेपाली कामदारको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक निर्णय लिन इआरटी गठन गरेको थियो ।

यसअघि क्षेत्रीय द्वन्द्व चर्किएपछि श्रम मन्त्रालयले कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत, ओमान, इजरायल र टर्कीका लागि नयाँ श्रम स्वीकृति तथा नवीकरणमा रोक लगाएको थियो । पछि बिदामा आएका नेपाली कामदारलाई पुनः फर्कन सहज बनाउन श्रम नवीकरण भने खुला गरिएको थियो ।

श्रम स्वीकृति स्थगनसँगै नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरणसमेत रोकेका थिए । हाल भने नयाँ श्रम स्वीकृति पुनः सुरु गर्ने प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार