काठमाडौँ — २४ भदौको आगजनीमा ज्यान गुमाएका ७ जनाको शव अत्यन्तै जलेको अवस्थामा भेटिँदा पहिचान गर्न समस्या भएको छ । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटबाट संकलित अवशेषबाट डीएनए नमुना निकाल्नसमेत नसकिएपछि शव परिवारलाई जिम्मा लगाउने प्रक्रिया प्रभावित बनेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार जेन–जी आन्दोलनताका हराएका व्यक्तिहरूको विवरणका आधारमा पहिचानको प्रयास भइरहेको छ । “त्यो अवधिमा हराएको भन्दै आएका उजुरीका आधारमा अनुसन्धान गरेका थियौं, यस घटनासँग सम्बन्धित हुन सक्ने ७–८ वटा फाइल छुट्टै राखेर हेरिरहेका छौं,” उनले भने । तर, डीएनए प्रोफाइलिङ गर्न कठिन भएपछि प्रक्रिया जटिल बनेको उनको भनाइ छ ।
घटनापछि प्रहरीले संकलन गरेका शवका अवशेष त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा पठाइएको थियो । तर, चिकित्सकहरूले पोस्टमार्टम गर्न सकिने अवस्था नै नरहेको बताएका थिए । एक फरेन्सिक चिकित्सकका अनुसार अवशेष लगभग पूर्ण रूपमा खरानी भइसकेको हुँदा परीक्षणका लागि आवश्यक नमुना संकलन गर्न सम्भव भएन ।
प्रहरीका अनुसार २९ भदौमा भाटभटेनीभित्र जलेका शव देखिएको सूचना आएपछि प्रहरी वृत्त गौशालाको टोली घटनास्थल पुगेको थियो । अवशेषमा स–साना हड्डीका टुक्रा मात्र बाँकी रहेको र शव रहेको संकेत आकृतिबाट मात्र देखिएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका एसपी पवन भट्टराईका अनुसार शव पहिचानका लागि अन्तिम विकल्प डीएनए परीक्षण भए पनि नमुना तयार पार्न नसकिने जानकारी केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको छ । “वैकल्पिक उपायबारे छलफल भइरहेको छ, विदेशमा परीक्षण सम्भव हुनेबारे पनि प्रारम्भिक कुराकानी भएको छ,” उनले भने ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवनप्रसाद रिजालका अनुसार जलेका शवबाट डीएनए निकाल्न सामान्यतः हड्डी वा दाँत आवश्यक पर्छ । सानो नमुना भए पनि परीक्षण सम्भव हुन सक्ने भएकाले सम्बन्धित सबै प्रयोगशालाबीच समन्वय आवश्यक रहेको उनले बताए ।
२३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र आगजनीमा देशभर ७६ जनाको मृत्यु भएको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । घटनामा २ हजार ५ सयभन्दा बढी घाइते भएका र अर्बौं रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आयोगले २४ भदौका घटनाबारे थप विस्तृत अनुसन्धान आवश्यक रहेको औंल्याए पनि त्यसअनुसारको छानबिन अझै प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।