१३ वैशाख, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न नदी किनारमा बनेका अव्यवस्थित संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ।
विशेषगरी सुकुमवासी बस्ती रहेका ती क्षेत्रका संरचना भत्काइएपछि प्रभावितहरू सरकारको सम्पर्कमा पुग्न थालेका छन्। पछिल्लो सरकारी तथ्यांकअनुसार २०० भन्दा बढी परिवार घरबारविहीन भएको भन्दै नाम दर्ता गराउन पुगेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा होल्डिङ सेन्टर स्थापना गरी सुकुमवासीहरूको स्क्रिनिङ भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, स्वास्थ्य समस्या भएका व्यक्तिका लागि छुट्टै हेल्प डेस्क पनि सञ्चालनमा ल्याइएको छ।
काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरिरहेकी इन्दिरा पोखरेलका अनुसार, जाँच गराएका अधिकांशमा कमजोरी र रक्तचाप कम हुने समस्या देखिएको छ। केही व्यक्तिमा दीर्घकालीन रोग पनि भेटिएको छ।
बस्ती भत्किँदा औषधि लिन नपाएको र निकाल्न नभ्याएको गुनासो दीर्घरोगीहरूले गरेका छन्। एकजना मृगौला फेल भएका वृद्ध बिरामीलाई वीर अस्पताल रेफर गरिएको उनले जानकारी दिइन्।
पोखरेलका अनुसार, बस्ती भत्किने चिन्ताले धेरैजसो प्रभावितहरू रातभर नसुतेका, खाना खान मन नलागेको र नखाएको बताएका छन्। “राति खाना नखाई सुत्यौं, डर पनि लाग्यो, त्यसैले खुट्टा थरथर काँपिरहेको छ,” स्वास्थ्य जाँचका क्रममा उनीहरूले बताएका छन्।
उनले थपिन्, कमजोरी भएका व्यक्तिहरूलाई जीवनजल उपलब्ध गराइएको छ। तर, नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरूलाई हालसम्म औषधि वितरण गरिएको छैन।