काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिँदै जाँदा संघीय संसद्को प्रतिनिधिसभा बैठकसमेत प्रभावित भएको छ। संसद् सचिवालयले लगातार दुई दिन बैठक स्थगित गर्दै सार्वजनिक बिदाको दिन शनिबार बिहान ११ बजेका लागि बैठक बोलाएको छ। यसअघि असार ११ गतेका लागि तय गरिएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो भने असार १२ गते बस्ने भनिएको बैठक पनि विशेष कारण देखाउँदै सारिएको हो। रास्वपाका सांसदहरू महाधिवेशनमा व्यस्त रहेकाले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न कठिन भएको जनाइएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय ले विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिँदै अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने सूचना जारी गरेका छन्।