बीपी राजमार्ग खुलाउन समय लाग्ने, वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

बीपी राजमार्ग खुलाउन समय लाग्ने, वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

काभ्रेपलाञ्चोक — शनिबार परेको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बग्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार दिउँसो करिब चार बजेदेखि बन्द भएको उक्त राजमार्ग खुलाउन अझै समय लाग्ने प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सडक आइतबार साँझसम्म पनि खुल्न कठिन हुन सक्छ। रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा र माम्ती लगायतका स्थानमा बनाइएका डाइभर्सन बगाएको छ। त्यसैगरी नेपालथोक र सिन्धुलीतर्फको आँपघारी क्षेत्रमा पनि डाइभर्सन क्षतिग्रस्त भएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार डाइभर्सन बग्दा काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोट क्षेत्रमा सयौँ सवारीसाधन रोकिएका थिए। आइतबार बिहानदेखि भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेलमा रोकिएका सवारीसाधनलाई सुरक्षित स्थानतर्फ पठाइएको छ।

मङ्गलटार क्षेत्रमा रोकिएका यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गराउँदै गन्तव्यतर्फ पठाउन थालिएको छ। सवारीसाधनलाई मङ्गलटारमै रोकी यात्रुहरूलाई पैदल रोशी खोला पार गराइ, त्यहाँबाट अर्को सवारीको व्यवस्था गरी तेमाल–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मौसममा सुधार आई सडक सुरक्षित भएको पुष्टि भएपछि मात्र पुनः सवारी सञ्चालन गरिनेछ। यस सम्बन्धमा थप जानकारी पछि सार्वजनिक गरिनेछ। सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वी पहाड तथा तराईतर्फ जाने र राजधानी भित्रिने सयौँ सवारीसाधन प्रभावित भएका छन्। यसअघि २०८१ साल असोज दोस्रो सातामा आएको भीषण बाढीले भकुण्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडकखण्डमा ठूलो क्षति पुर्‍याएको थियो।

हाल क्षतिग्रस्त क्षेत्रमा पुनर्निर्माण कार्य जारी रहे पनि स्थायी संरचना निर्माण अझै सम्पन्न भएको छैन। अस्थायी रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएकोमा बाढीले ती संरचना बगाइदिँदा पटक–पटक यातायात अवरुद्ध हुने र यात्रुले सास्ती खेप्नुपर्ने अवस्था दोहोरिँदै आएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार