काभ्रेपलाञ्चोकमा वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका ६२७ यात्रुको उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार साँझदेखि रोशी खोलामा आएको बाढीले राजमार्गका विभिन्न स्थानका अस्थायी डाइभर्सन बगाएपछि मंगलटार क्षेत्रमा यात्रुहरू रोकिएका थिए। आइतबार बिहान प्रहरी टोलीले उनीहरूको सुरक्षित उद्धार गरेको हो।
उद्धारका क्रममा यात्रुहरूलाई मंगलटारबाट झोलुङ्गे पुल पार गराएर तेमाल गाउँपालिका हुँदै भकुण्डेसम्म पुर्याइएको थियो।
बाढीका कारण डाइभर्सन बग्दा मंगलटारमा रोकिएका सवारी साधनहरू तत्काल काठमाडौँ वा सिन्धुलीतर्फ जान सक्ने अवस्था छैन। करिब ८० सवारी साधन अझै त्यहीँ रोकिएका छन् भने तिनका चालक र सहचालक गरेर करिब १२०–१२५ जना सवारी कुरेर बसेका छन्।उद्धार गरिएका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा नेपाल प्रहरीले भकुण्डेमा फलफूल, चाउचाउ, पानी र पेय पदार्थ उपलब्ध गराएका छन्।
वर्षा कम भएसँगै बाढीले क्षति पुर्याएका चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेंशी, बुलढुंगा र माम्ती गरी आठ स्थानमा डाइभर्सन पुनर्निर्माणको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।