काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार वाग्मती प्रदेश सरकारले २०८१ सालदेखि प्रत्येक वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसका रूपमा मनाउन सुरु गरेको हो । उक्त ऐन कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो भने राजपत्रमा प्रकाशित भएको १८० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था अनुसार २०८१ वैशाख २४ गतेदेखि ऐन लागू भएपछि पहिलो पटक प्रदेश भाषा दिवस मनाइएको थियो । यस वर्ष तेस्रो प्रदेश भाषा दिवस मनाउन लागिएको वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए । दिवसका अवसरमा आज बिहान भक्तपुरको दूधपाटीबाट भक्तपुर दरबार क्षेत्र, दत्तात्रेय, कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म र्याली आयोजना गरिने तथा त्यसपछि विशेष कार्यक्रमसमेत गरिने पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले बताए ।