काठमाडौं — प्रतिनिधिसभाको बैठकमा भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय उठेको छ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त विषय संसद्मा उठाउँदै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। उनले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमि हुँदै उडेको र त्यसमा भारतीय सेनाका उच्च अधिकारी सवार रहेको दाबीसमेत गरेका छन्।दुलालले संसद्मा यो विषय उठाउँदै यस्तो संवेदनशील घटनाबारे सरकारले के कारबाही वा कूटनीतिक पहल गर्यो भन्ने स्पष्ट गर्न आग्रह गरेका छन्।यसअघि दार्चुला क्षेत्रमा भारतीय हेलिकप्टर तथा विमानहरूले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषय पटक–पटक स्थानीय स्तरमा पनि उठ्दै आएको छ। स्थानीय प्रशासनले यस्ता गतिविधि रोक्न कूटनीतिक माध्यमबाट भारतलाई पत्राचार गर्ने गरेको विवरण पनि विभिन्न समयका समाचारमा उल्लेख छ।
सरकारले भने यस विषयमा आधिकारिक रूपमा विस्तृत प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।