काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘हेलो हेल्थ’ लगायतका गुनासा सुन्ने संयन्त्रमा देशभरबाट दैनिक सयौँ गुनासा आइरहेका छन्। अस्पतालमा लामो लाइन, औषधि अभाव, कर्मचारीको व्यवहार, विशेषज्ञ चिकित्सकको कमी र स्वास्थ्य बीमा सेवासम्बन्धी समस्या प्रमुख रूपमा उठ्ने गरेका छन्।
मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीका अनुसार पछिल्ला महिनामा गुनासोको संख्या उल्लेख्य रूपमा बढेको छ। चैत महिनामा मात्र करिब ४ हजार गुनासा दर्ता भएका थिए भने यसअघि मासिक औसत ७० देखि १०० मात्र गुनासा आउने गरेका थिए। हाल ‘हेलो हेल्थ’, कल सेन्टर, ह्वाट्सएप र इमेलमार्फत गुनासा तीव्र रूपमा बढिरहेका छन्।नुवाकोटका एक सेवाग्राहीले वृद्ध आमालाई उच्च रक्तचाप र मुटुको औषधि लिन प्रत्येक महिना काठमाडौं ल्याउनुपर्ने बाध्यताले ठूलो समस्या भएको गुनासो गरेका छन्। पहिले तीन महिनासम्म पुग्ने औषधि पाइने व्यवस्था अहिले एक महिनामा सीमित गरिएको र बिरामी स्वयं उपस्थित हुनुपर्ने नियमले कठिनाइ बढाएको उनको भनाइ छ। यातायात र बसाइ खर्च औषधिभन्दा बढी पर्ने अवस्था आएको उनले बताएका छन्।
त्यसैगरी, त्रिवि शिक्षण अस्पताल र टेकुस्थित कल सेन्टरमा कर्मचारीको व्यवहार असभ्य भएको, आवश्यक जानकारी नदिएको र सेवाग्राहीलाई झर्किने प्रवृत्ति रहेको गुनासा पनि बढेका छन्। सेवाग्राहीहरूले सेवा सुधार गर्दै कर्मचारीलाई सेवामैत्री बनाउनुपर्ने माग गरेका छन्।मन्त्रालयका अनुसार सबैभन्दा बढी गुनासा अस्पतालका कर्मचारीको व्यवहारसँग सम्बन्धित छन्। टिकट काउन्टरदेखि सेवा कक्षसम्म बिरामीसँग उचित संवाद नहुनु, जानकारी नदिनु र झर्किने प्रवृत्ति प्रमुख समस्या बनेको छ।त्यसैगरी, विशेषज्ञ चिकित्सकको अभाव, भिडियो एक्स–रे तथा अन्य परीक्षणका लागि लामो प्रतीक्षा, उपकरण बिग्रिने समस्या र औषधि अभाव पनि नियमित रूपमा देखिएको छ। वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर लगायतका ठूला अस्पतालमा सेवाग्राहीको चाप बढी भएकाले गुनासो पनि बढी आउने गरेको मन्त्रालयको निष्कर्ष छ।
स्वास्थ्य बीमा कार्यक्रमसम्बन्धी समस्या पनि गम्भीर बनेको छ। अस्पतालहरूले भुक्तानी नपाएको कारण सेवा कटौती गर्ने र बीमा सेवा रोक्ने अवस्था आएपछि बिरामी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। हाल बीमा बोर्डले अस्पतालहरूलाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ।मन्त्रालयले अस्पताल सुधार कार्यविधि–२०८२ लागू गरेपछि केही सुधार देखिन थालेको दाबी गरेको छ। गुनासा आएपछि सम्बन्धित अस्पताल तथा निकायलाई पत्राचार र फोनमार्फत सुधारका लागि निर्देशन दिइने गरिएको छ। गम्भीर प्रकृतिका उजुरी भने सम्बन्धित अनुसन्धान निकायमा पठाउने गरिएको मन्त्रालयले जनाएको छ।