सगरमाथा आरोहणका क्रममा लेक लागेर आरोही विजय घिमिरेको मृत्यु

सगरमाथा आरोहणका क्रममा लेक लागेर आरोही विजय घिमिरेको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा लेक लागेर एक जना आरोहीको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रतर्फ पुग्ने क्रममा घिमिरे अचानक बिरामी परेका थिए । बिहान करिब ४ बजेतिर उनको स्वास्थ्य अवस्था बिग्रिएपछि तत्काल बेस क्याम्पतर्फ फर्काउने प्रयास गरिएको भए पनि बाटोमै उनको मृत्यु भएको हो ।

ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी भएका घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याडमा ल्याइएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सगरमाथाको सफल आरोहण गरिसकेका घिमिरे पछिल्लो समय आरोही गाइडका रूपमा समेत कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार