काठमाडौं – जन्मकैदको सजाय भोगिरहेकी २५ वर्षीया महिला सपना तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार भएकी छन्।
सुन्धारा कारागारका प्रमुख तथा प्रशासक कृष्ण चापागाईंका अनुसार उनी शुक्रबार राति करिब १ बजे कारागारबाट फरार भएकी हुन्। उनले भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको जानकारी दिएका छन्।
सपना तामाङ चोरी र कर्तव्य ज्यानको मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी थिइन्। यसअघि जेनजी आन्दोलनको बेला पनि उनी फरार भएकी थिइन् र दुई महिनापछि पक्राउ परेकी थिइन्।
घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक अनुसन्धान सुरु गरेका छन्। कारागारको सुरक्षा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत रहेको छ।