पोखरा। ठूलो वर्षा हुँदा सडकमा भेलबाढी बग्ने समस्या फेरि दोहोरिएको छ । बिहीबार साँझ परेको मुसलधारे वर्षापछि न्युरोड, महेन्द्रपुल, पृथ्वीचोक, सभागृह र लेकसाइड क्षेत्र जलमग्न बनेका थिए । सडकमा भेलसँगै फोहोरसमेत बगेपछि शुक्रबार बिहान पोखराका विभिन्न सडक फोहोरले छरपस्ट देखिएका थिए । केही स्थानमा सफाइ भए पनि धेरै ठाउँमा बिहान अबेरसम्म दुर्गन्ध फैलिएको अवस्था देखिएको थियो ।
पोखरा महानगरपालिकाका फोहोरमैला शाखा प्रमुख प्रभात लामिछानेका अनुसार पोखरा–२१ मा अस्थायी रूपमा भइरहेको फोहोर व्यवस्थापन दुई दिन रोकिएपछि नागरिकले सडक छेउमै फोहोर फाल्न थालेका थिए । त्यसैबीच वर्षा भएपछि ती फोहोर सडकभर फैलिएका हुन् ।
यसअघि Pokhara–३२ लामेआहालमा भइरहेको व्यवस्थापन स्थल भरिएपछि महानगरले विभिन्न ठाउँमा फोहोर व्यवस्थापनको प्रयास गरेको थियो । तर स्थानीयको विरोधका कारण कहिले पोखरा–१४, कहिले पृथ्वीचोक शान्तिवन क्षेत्र, त कहिले दोबिल्ला आसपासमा फोहोर गाड्ने अवस्था आएको थियो ।
फागुनदेखि भने पोखरा–२१ स्थित ‘सम्म’ क्षेत्रमा निजी जग्गामा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर त्यहाँ पनि दुर्गन्ध र संरचना निर्माणको विवादले समस्या थपिएको छ । फोहोर व्यवस्थापनका लागि लगाइएको स्काभेटरसमेत कामकै क्रममा फसेपछि काम केही दिन प्रभावित भएको महानगरले जनाएको छ ।
महानगरका कर्मचारी हर्क गायकका अनुसार अर्को स्काभेटर ल्याएर काम पुनः सुरु गर्ने तयारी भइरहेको छ । अहिले भेलले सडकमा छरपस्ट बनाएको फोहोर उठाउने काम जारी रहेको उनले बताए ।
यता, दीर्घकालीन समाधानका रूपमा पोखरा–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना पनि अन्योलमा परेको छ । करिब ८० करोड रुपैयाँ लगानीमा ७० रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र बनाउने गरी महानगर र Terrasolve Renewable Pvt. Ltd. बीच सम्झौता भएको थियो । तर स्थानीयको विरोध, आन्दोलन तथा आर्थिक अनियमितताको आरोपपछि परियोजना स्थगित बनेको छ ।
प्रशोधन केन्द्र निर्माणका लागि रोक्का राखिएको जग्गासम्बन्धी विवाद झन् चर्किएको छ । महानगरको खाताबाट ५५ लाख रुपैयाँ वडाध्यक्ष रामचन्द्रको खातामा पठाइएको विषय सार्वजनिक भएपछि विवाद बढेको थियो । उक्त रकम स्थानीयलाई बैना दिन प्रयोग गरिएको खुलेपछि अहिले त्यो रकम फिर्ता गर्ने अवस्था आएको छ ।
हाल महानगरले नयाँ स्थायी ल्याण्डफिल साइटका लागि फेरि पोखरा–३२ क्षेत्रमा प्रक्रिया अघि बढाएको जनाएको छ ।