काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगर ले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले परिषद् खारेज गर्ने निर्णय गरेको भन्ने सुनिन आएको उल्लेख गर्दै बालबालिकाको हकअधिकार र संरक्षणसँग जोडिएको संवेदनशील विषय भएकाले सरकारले पुनर्विचार गर्नुपर्ने बताइन् ।
उनले स्पष्ट वैकल्पिक संरचना र प्रभावकारी व्यवस्था सुनिश्चित नगरी परिषद् खारेज गर्नु उचित नहुने धारणा राख्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराइन् । साथै, बालबालिकाको हक, हित र संरक्षणका विषयमा सरोकारवालासँग व्यापक परामर्श गरी निर्णय पुनर्विचार गर्न पनि आग्रह गरिन् । रानामगरले बालबालिकालाई समाजको सबैभन्दा कमजोर र निर्दोष वर्गको रूपमा उल्लेख गर्दै उनीहरूको अधिकार संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताइन् ।