काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोधलाई ‘तमासा’ भन्दै टिप्पणी गरेपछि जगदीश खरेल विरुद्ध संसद्मा चर्को विरोध भएको छ । प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिताको माग गर्दै विपक्षी दलहरूले निरन्तर नाराबाजी गरिरहेका बेला पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिन रोस्ट्रम पुगेका खरेलले विपक्षीलाई लक्षित गर्दै आरोप लगाएपछि बैठकको वातावरण तनावपूर्ण बनेको हो । खरेलको अभिव्यक्तिपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए भने नरेन्द्रकुमार केरूङ रोस्ट्रमतर्फ अघि बढ्न खोजेका थिए । त्यसक्रममा कांग्रेस प्रमुख सचेतक वासना थापा ले उनलाई सम्झाएर पछाडि हटाएकी थिइन् । यसअघि पनि सभामुखले संसद्मा अमर्यादित शब्द प्रयोग नगर्न पटक–पटक रुलिङ गर्दै आएका छन् भने गणेश पराजुली र रामबहादुर थापा लगायतका नेताहरूका अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइसकिएको छ ।