काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्रा सञ्चितिको प्रभावकारी उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले सोभरेन वेल्थ फन्ड स्थापना गर्ने तयारी गरिएको बताएका छन्।
अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाललाई करिब सात महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति भए पर्याप्त हुने भए पनि हाल १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने सञ्चिति रहेको बताए। गभर्नर पौडेलका अनुसार अहिले विदेशी मुद्रा सञ्चितिबाट प्राप्त हुने प्रतिफल करिब ४ प्रतिशतको हाराहारीमा मात्र रहेको छ।
उनले अत्यधिक सञ्चित विदेशी मुद्राको एक हिस्सा दीर्घकालीन आर्थिक विकास र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने भएकाले सोभरेन वेल्थ फन्डको अवधारणा अघि सारिएको स्पष्ट पारे। उनका अनुसार यस्तो कोषले उपलब्ध विदेशी मुद्रा स्रोतको अधिकतम उपयोग गर्दै देशको आर्थिक वृद्धिमा थप योगदान पुर्याउन मद्दत गर्नेछ।