काठमाडौं – सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखेर भारत भ्रमणबारे जानकारी दिएका छन्। १८ जेठदेखि पाँच दिन भारत भ्रमणमा रहेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए।
बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भारत भ्रमणको क्रममा ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को विषय उठ्यो कि उठेन भनेर प्रश्न उठाए। ईपीजी नेपाल–भारत सम्बन्ध र सन्धि–सम्झौतासँग सम्बन्धित विषयमा छलफल गर्न गठित समूह हो। यो समूह तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्झौताअनुसार गठन भएको थियो।
ईपीजीको दुई वर्षे प्रतिवेदन तयार भएको भए पनि हालसम्म भारतीय पक्षले यसलाई स्वीकृति दिएको छैन। सुशील कोइरालाको निधन भइसकेको छ भने नरेन्द्र मोदी हाल पनि भारतीय प्रधानमन्त्री हुन्।