काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै आगामी महिला एसिया कपमा छनोट हुन असफल भएको छ । केही दिनअघि एसियन गेम्स छनोटको निर्णायक खेलमा चीनसँग पराजित भएर बाहिरिएको नेपालले मलेसियामा जारी प्रतियोगितामा पनि अन्तिम आठको चरण पार गर्न सकेन ।
बुधबार बिहान वायुमास ओभलमा भएको खेलमा थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । नेपालको ब्याटिङ अपेक्षाअनुसार चल्न नसक्दा लक्ष्य भेट्टाउन सकेन । रुबिना क्षेत्रीले अविजित २० रन बनाउँदै सर्वाधिक योगदान दिँदा सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपाललाई सस्तैमा समेट्न थाइल्यान्डकी थिपात्चा पुथावङले ४ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिइन् । सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले समान २–२ विकेट हात पार्दा फनिता मायाले १ विकेट लिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो । थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले ५१ बलमा अविजित ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रनको योगदान दिए । नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान एक–एक विकेट लिए ।
यस नतिजासँगै नेपाल एसिया कपको टिकट हात पार्ने लक्ष्यमा असफल भएको छ । लगातार दुई महत्वपूर्ण छनोट प्रतियोगितामा निर्णायक चरण पार गर्न नसक्दा नेपाली महिला टोलीले ठूलो अवसर गुमाएको छ ।