पाँचथरको शिवालय–रानीटार–लुङरुप सडकखण्डअन्तर्गत नाम्दुखोलामा नयाँ ‘आर्च्ड’ प्रविधिको पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले सहज आवतजावतको सुविधा पाएका छन्। सडक कालोपत्रे भइसके पनि खोलामा निर्माण गरिएको कजवे र निर्माणाधीन पुल बाढीले बगाएपछि केही वर्षदेखि यस सडकखण्डमा सवारी सञ्चालन प्रभावित हुँदै आएको थियो। कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरले निर्माण गरेको यो पुल प्रदेशमै पहिलो ‘आर्च्ड’ प्रविधिको पुल भएको जनाएको छ।
पुल सञ्चालनमा आएसँगै फिदिम नगरपालिकाका वडा नं. ७, ८, १३ र १४ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। रानीटार–फिदिम रुटमा यात्रा समय अढाइ घण्टाबाट घटेर ४५ मिनेटमा झरेको चालक बलराम गुरुङले बताएका छन्। ३०.३४ मिटर लामो पुल निर्माणमा ३ करोड ७७ लाख रुपैयाँ खर्च भएको इन्जिनियर मुकेशराज शाहले जानकारी दिएका छन्। पुल आकर्षक बनेपछि नाम्दुखोला क्षेत्रमा घुम्न जाने र तस्बिर तथा भिडियो खिच्नेहरूको संख्या पनि बढ्न थालेको छ। सन्दकपुरसम्म पुग्ने मुख्य मार्गका रूपमा रहेको यस सडकको बाँकी खण्ड पनि कालोपत्रे सम्पन्न भएपछि छिन्तापु, गोरुवाले र सन्दकपुरजस्ता प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्न थप सहज हुने अपेक्षा गरिएको छ।