नेदरल्यान्ड्स भ्रमणका लागि नेपाली क्रिकेट टोलीको बिदाइ, जर्सीमा अभ्यासपछि लिग–२ शृङ्खला खेल्ने

नेदरल्यान्ड्स भ्रमणका लागि नेपाली क्रिकेट टोलीको बिदाइ, जर्सीमा अभ्यासपछि लिग–२ शृङ्खला खेल्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रमबीच बिदाइ गरेको छ। जुलाई २१ देखि सुरु हुने शृङ्खलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन्। प्रतियोगिताअघि नेपाली टोलीले जर्सीमा तयारी क्याम्प गर्दै जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल खेल्नेछ।

बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले गतवर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउँदै वर्तमान लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे। उनले आगामी केही महिना नेपाली क्रिकेटका लागि निकै व्यस्त रहने उल्लेख गर्दै लिग–२ शृङ्खलासँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पनि रहेको बताए। कप्तान रोहित पौडेलले टोलीको तयारी सन्तोषजनक रहेको र पछिल्लो एक सातादेखि खेलाडीहरू फिटनेसमा केन्द्रित भएको जानकारी दिए। उनले विश्वकपमा छनोटका लागि बाँकी लिग–२ शृङ्खलाहरू अत्यन्त महत्वपूर्ण भएकाले टोली उत्कृष्ट प्रदर्शनका लागि प्रतिबद्ध रहेको बताए। क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि खेलाडीलाई दबाबमुक्त भएर खेल्दै राम्रो नतिजा ल्याउन शुभकामना दिए।

नेपालले केही साताअघि सम्पन्न दुई घरेलु शृङ्खलामा ८ मध्ये ६ खेल जित्दै लिग–२ अंकतालिकामा आफ्नो स्थान सुधार गरेको थियो। यस भ्रमणका लागि क्यानका सदस्य श्रीधर केसी टोली व्यवस्थापक नियुक्त भएका छन् भने मुख्य प्रशिक्षक स्टुअर्ट ल पासपोर्ट नवीकरणसम्बन्धी समस्याका कारण केही समयपछि टोलीसँग जोडिने जनाइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार