काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौता नगरी नै जारी युद्ध अन्त्य गर्ने विकल्पमाथि गम्भीर विचार गरिरहेको बताइएको छ। द वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, इरानले विश्वकै महत्वपूर्ण ऊर्जा मार्ग होर्मुज जलसन्धि पूर्ण रूपमा खुला गरी व्यापारिक जहाजको आवागमन सहज बनाएमा अमेरिका सैन्य कारबाहीबाट पछि हट्न तयार देखिएको छ।
सुरुमा ट्रम्प प्रशासनको प्राथमिकता इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने नयाँ सम्झौता गर्नु थियो। तर युद्ध लम्बिँदै जाँदा अमेरिकी बजारमा इन्धनको मूल्य बढ्नुका साथै विश्वव्यापी ऊर्जा आपूर्तिमा दबाब बढेपछि वासिङ्टनको प्राथमिकता सैन्य विजयभन्दा ऊर्जा आपूर्ति र आर्थिक स्थिरतातर्फ केन्द्रित हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा पेट्रोलको मूल्य वृद्धि र लामो समयसम्म युद्ध जारी रहने जोखिमले ट्रम्प प्रशासनमाथि दबाब बढाएको विश्लेषण गरिएको छ। ट्रम्पले भने इरानले तत्काल आणविक हतियार पुनः निर्माण गर्न नसक्ने र अमेरिकी गुप्तचर निकायले उसको आणविक गतिविधिमाथि निगरानी गरिरहने तर्क गर्दै सम्झौताबिनै युद्ध अन्त्य गर्न सकिने संकेत दिएका छन्।
होर्मुज खोल्न इरानका ६ सर्त
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी नौसैनिक नाकाबन्दी नहटेसम्म होर्मुज जलसन्धि नखोलिने स्पष्ट पारेका छन्। इरानले जलसन्धि खोल्नुअघि अमेरिकासामु ६ वटा कडा पूर्वसर्त राखेको बताइएको छ।
तेहरानले इरान र उसका ‘पवित्र मूल्य’ विरुद्धका धम्की स्थायी रूपमा अन्त्य गर्नुपर्ने, इरान तथा उसका क्षेत्रीय सहयोगीविरुद्ध सैन्य कारबाही रोक्नुपर्ने र नाकाबन्दीमा संलग्न अमेरिकी नौसेना तथा वायुसेना फिर्ता हुनुपर्ने माग गरेको छ। त्यस्तै, युद्धबाट भएको क्षतिबापत क्षतिपूर्ति दिनुपर्ने, इरानमाथिका सम्पूर्ण आर्थिक प्रतिबन्ध हटाउनुपर्ने र विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने सर्त राखिएको छ।
यसैबीच, इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले पूर्व आईआरजीसी कमाण्डर मोहसेन रजाईलाई राष्ट्रिय सुरक्षा परिषद्मा आफ्नो प्रतिनिधि नियुक्त गरेका छन्। रजाईले यसअघि होर्मुज जलसन्धिको नियन्त्रण दर्जनौँ आणविक बमभन्दा बढी मूल्यवान् भएको बताएका थिए।
खर्ग टापुबाट तेल निर्यात प्रभावित
अमेरिकी नाकाबन्दीका कारण इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग टापुबाट कच्चा तेलको ओसारपसार प्रभावित भएको बताइएको छ। ‘विन्डवार्ड’का अनुसार त्यहाँ १७ वटा ‘डार्क ट्याङ्कर’ इन्जिन बन्द गरेर बसेका छन्। खर्ग टापुबाट इरानको ठूलो हिस्सा कच्चा तेल निर्यात हुने भएकाले त्यहाँको अवरोधले विश्वव्यापी ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ।
होर्मुज जलसन्धि खुल्ने वा नखुल्ने अन्योलबीच एसियाली बजारमा कच्चा तेलको मूल्य पनि बढेको छ। ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८४.४६ डलर र अमेरिकी डब्लुटीआई ७८.७९ डलर पुगेको बताइएको छ।
होर्मुजमा विश्वको नजर
इरान र ओमानबीच रहेको होर्मुज जलसन्धि विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो। विश्वको समुद्री तेल व्यापारको करिब २० प्रतिशत तथा ठूलो परिमाणको एलएनजी यही मार्गबाट ओसारपसार हुने भएकाले यसको अवरोधले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर पार्न सक्छ।
इरानसँग २ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने ३ हजारभन्दा बढी ब्यालिस्टिक मिसाइल रहेको अमेरिकी गुप्तचर निकायको आकलन उद्धृत गरिएको छ। त्यस्तै, इरानले लामो दूरीका ड्रोनको ठूलो
भण्डारसमेत विकास गरेको बताइएको छ। क्षेत्रीय सहयोगी समूहहरूमार्फत समेत दबाब सिर्जना गर्न सक्ने भएकाले इरानसँगको सैन्य सङ्घर्ष लम्ब्याउनु अमेरिकाका लागि रणनीतिक रूपमा चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ।
सम्झौताबिनाको युद्ध अन्त्यमा दीर्घकालीन जोखिम
भू–राजनीतिक विश्लेषकहरूले भने आणविक सम्झौताबिनै युद्ध अन्त्य गर्दा तत्काल तनाव कम भए पनि दीर्घकालीन जोखिम कायमै रहने चेतावनी दिएका छन्। इन्टरनेसनल क्राइसिस ग्रुपका अलीस वाएजका अनुसार यस्तो अवस्थामा इरानको आणविक कार्यक्रममाथिको अन्तर्राष्ट्रिय निगरानी कमजोर हुन सक्छ।
ब्रुकिङ्स इन्स्टिच्युसनका केनेथ पोल्याकले पनि अमेरिका युद्धलाई सीमित राख्न चाहेको देखिए पनि ठोस सम्झौताबिना पछि हट्दा समस्या दीर्घकालीन रूपमा समाधान नहुने बताएका छन्। अर्कोतर्फ, जोन्स हप्किन्स विश्वविद्यालयका भली नासरका अनुसार इरानले होर्मुजलाई दबाबको माध्यम बनाएर प्रतिबन्ध फुकुवा र सुरक्षा ग्यारेन्टीजस्ता प्रमुख माग पूरा गराउन खोजिरहेको छ।
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच सहमति बनेमा तत्काल विश्वव्यापी ऊर्जा बजारमा राहत पुग्न सक्ने देखिन्छ। तर, आणविक कार्यक्रम, प्रतिबन्ध, सुरक्षा ग्यारेन्टी र क्षेत्रीय प्रभावका मूल विवाद समाधान नभएमा अहिलेको सम्भावित युद्धविराम दीर्घकालीन शान्तिमा परिणत हुनेमा भने प्रश्न कायमै रहनेछ।