नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

वरिष्ठ नाक, कान तथा घाँटी (ईएनटी) विशेषज्ञ डा. पौडेल हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्। उनले यसअघि वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन्।

डा. पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्य चिकित्सामा एमएस तहको अध्ययन गोल्ड मेडलसहित पूरा गरेका हुन्। उनले सोही संस्थानबाट एमबीबीएस अध्ययनसमेत पूरा गरेका छन्।

नेपाल मेडिकल काउन्सिलमा समेत अनुभव हासिल गरेका डा. पौडेलले यसअघि काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। वरिष्ठ चिकित्सक तथा काउन्सिलको कामकारबाहीबारे अनुभव भएका उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार