जाजरकोट पहिरोपीडितलाई तत्काल उद्धार र राहत दिन सांसद विकको माग

जाजरकोट पहिरोपीडितलाई तत्काल उद्धार र राहत दिन सांसद विकको माग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले जाजरकोटमा हालै गएको पहिरोबाट प्रभावित नागरिकहरू बिचल्लीमा पर्दासमेत सरकारले बेवास्ता गरेको भन्दै तत्काल उद्धार, राहत तथा आवश्यक व्यवस्थापन गर्न माग गरेकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद विकले नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताइन्।

सांसद विकका अनुसार पहिरोबाट प्रभावित ८२४ जनालाई तीनवटा होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूमा घाइते, बालबालिका, ६ जना सुत्केरी र ५ जना गर्भवतीसमेत रहेका छन्। प्रभावित बालबालिका विद्यालय जान पाएका छैनन् भने धेरैजना प्लास्टिकको पालमुनि बस्न बाध्य भएको उनले बताइन्। होल्डिङ सेन्टरबाहेक अन्य केही प्रभावित नागरिक आफन्तको घरमा शरण लिएर बसिरहेको उल्लेख गर्दै विकले यस्तो अवस्थामा सरकार किन मौन बसेको भन्दै प्रश्न गरिन्।

‘यस्तो अवस्थामा नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो कि होइन, वा उनीहरूलाई त्यही पहिरोमा परेर मर्न दिनुपर्ने हो वा उद्धार गर्नुपर्ने हो?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। उनले पहिरोपीडितको जीवनरक्षा, सुरक्षित बसोबास तथा आवश्यक राहत सामग्री तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार