शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विवेकशील, सिर्जनशील, नैतिक र राज्यप्रति जिम्मेवार नागरिक निर्माण गर्न मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएकी छन्। काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिइन्। विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, आलोचनात्मक चिन्तन तथा नागरिक जिम्मेवारीसँग जोड्नुपर्ने उनको भनाइ छ।

पूर्वराष्ट्रपति भण्डारीले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माताको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी रहने बताइन्। नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारी विकासका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने धारणा राखिन्। नागरिकले राज्यबाट अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक भए पनि राज्य र समाजप्रतिको आफ्नो भूमिका तथा जिम्मेवारी बुझ्न आवश्यक रहेको उनको भनाइ छ। उनले नागरिक शिक्षामा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिँदै शिक्षा प्रणालीको सुधारसँगै समाजमा पठन संस्कृतिको विकास गर्न पनि उत्तिकै आवश्यक रहेको बताइन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार