• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

भोटेकोशीको बाढी : केही मिनेटमै उजाडियो बस्ती, सयौँ परिवारको जीवन तहसनहस

भोटेकोशीको बाढी : केही मिनेटमै उजाडियो बस्ती, सयौँ परिवारको जीवन तहसनहस

‘तेता के के हुँदैछ, यता बाढी पसेर, फेरि हामी दुःखीकै खायो मुटु कलेजो, हामी भयौँ बेघरबार…’ गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत अहिले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बस्ने कैयौँ परिवारको वास्तविक पीडा बनेको छ। केही दिनअघिसम्म सुन्दर देखिएका बस्ती अहिले बगरमा परिणत भएका छन्। बाढीमा कतिपयले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन्। कैयौँ घाइते भएका छन् र धेरै परिवार घर, खेत तथा व्यवसाय गुमाएर विस्थापित भएका छन्।बुधबार बिहान मानिसहरू दैनिक कामकाजमा व्यस्त थिए। कसैले खाना खाँदै थिए, कोही विद्यालय तथा कार्यालय जाने तयारीमा थिए भने कतिपय खेतबारीको काममा थिए। त्यही बेला सामान्य अवस्थामा बगिरहेको भोटेकोशी नदी एकाएक उर्लिएर आयो। पानीसँगै ढुङ्गा, माटो, काठ र भग्नावशेष बगेर आउँदा नदी आसपासका बस्तीका मानिसलाई सम्हालिनेसमेत समय मिलेन। वर्षौंको मेहनतले जोडेको सम्पत्ति केही मिनेटमै बाढीको भेलमा मिसियो। सडक, पुल, घर तथा यातायातका साधनसमेत बाढीले बगायो।रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका लागि भोटेकोशी बाढीले ल्याएको विपद् अझै पनि सपनाजस्तै लागिरहेको छ। उनले यति ठूलो विपद्ले गाउँबस्तीलाई यसरी तहसनहस बनाउला भन्ने कल्पनासमेत नगरेको बताए। अहिले स्थानीय तहको टोली उद्धार तथा राहतमा जुटिरहेको छ। तर जहाँ हेर्‍यो, त्यहीँ भग्नावशेष, आफन्तको खोजीमा रहेका परिवार र घरबार गुमाएका मानिस देखिन्छन्। घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनु अहिले गाउँपालिकाको प्राथमिकता बनेको छ।बाढीको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देश–विदेशसम्म फैलिँदा सार्वजनिक भएका दृश्यले विपद्को भयावहता देखाएका थिए। ज्यान जोगाउन मानिसहरू बालबालिका तथा वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानतर्फ दौडिरहेका थिए। कतिपय घरका छतमा आश्रय लिन बाध्य भए भने कतिपय डाँडातिर भागेर ज्यान जोगाउन सफल भए। बाढीले नदी किनारमा रहेका बस्ती मात्र होइन, महत्वपूर्ण सडक, पुल तथा भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ।

पूर्वसूचना र उद्धारले जोगायो धेरैको ज्यान

बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ८ः४० बजेसम्म भोटेकोशी–स्याफ्रुबेंसी जलमापन केन्द्रमा नदीको जलसतह सामान्य अवस्थामा रहेको देखिएको थियो। उक्त केन्द्रमा सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर निर्धारण गरिएको थियो। तर त्यसको केही समयपछि जलमापन केन्द्र नै बाढीले बगाएपछि तथ्याङ्क आउन बन्द भयो। त्यसपछि जिल्ला प्रशासन कार्यालय, रसुवा तथा अन्य जलमापन केन्द्रका कर्मचारीमार्फत भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गर्न लागेको सूचना प्राप्त भयो।सम्भावित जोखिममा रहेका बस्तीलाई तत्काल सूचना पठाउने काम सुरु गरिएको थियो। बिहान करिब ९ः१५ बजे त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। नेपाल टेलिकम र एनसेलमार्फत रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी आसपासका बासिन्दालाई चरणबद्ध रूपमा पूर्वसूचना पठाइएको थियो। बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी तथा त्रिशूली नदीतटीय क्षेत्रका नागरिकलाई करिब ६ लाख ७९ हजार २९५ मोबाइल एसएमएस पठाएको जनाएको छ। पूर्वसूचनाका कारण धेरै मानिस अग्लो तथा सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका स्थानीय जनप्रतिनिधिको भनाइ छ।

हिम–चट्टान पहिरोपछि आएको बाढीको प्रारम्भिक निष्कर्ष

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषण गर्दै नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो गएको र त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको पहिरोपछि ल्हेन्दे खोलामा आएको बाढी टिमुरे हुँदै त्रिशूली नदीमा मिसिएको प्रारम्भिक अध्ययनले देखाएको छ। घटनाको वास्तविक कारणबारे थप स्पष्ट हुन हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रको सूक्ष्म अध्ययन भइरहेको छ।यसअघि पनि रसुवाको नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको थियो। त्यस घटनामा नेपाल र चीनतर्फ गरी मानिसको ज्यान गएको तथा केही बेपत्ता भएका थिए। यसपटक सोही क्षेत्रमा आएको अझ ठूलो बाढीले पुनः ठूलो क्षति पुर्‍याएको छ।

जोखिममा अझै ४७ हिमताल

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को अध्ययनले नेपाल, भारत र चीनमा रहेका ४७ हिमताल जोखिमयुक्त अवस्थामा रहेको देखाएको छ। तीमध्ये २५ वटा चीनमा, २१ वटा नेपालमा र एउटा भारतमा रहेका छन्। तीमध्ये केही अत्यन्त संवेदनशील रहेको र जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको अध्ययनले औँल्याएको छ। हिमताल फुट्दा नेपालमा ठूलो जनधनको क्षति हुनसक्ने भएकाले पूर्वतयारी, जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

बाढीपछि मानसिक स्वास्थ्यमा पनि असर

अचानक आएको बाढी, आफन्त गुमाउनु, घरबारविहीन हुनु, घाइते हुनु तथा फेरि विपद् दोहोरिने त्रासले प्रभावितको मानसिक स्वास्थ्यमा समेत गहिरो असर पार्न सक्ने मनोचिकित्सकहरू बताउँछन्। विपद्पछि चिन्ता, डिप्रेसन, निद्रामा समस्या, डर, बेचैनी, दैनिक कामप्रतिको रुचि घट्ने तथा निराशाजस्ता समस्या देखिन सक्ने चिकित्सकहरूको भनाइ छ। त्यसैले भोटेकोशी बाढीबाट प्रभावितको मानसिक स्वास्थ्यलाई पनि उद्धार तथा राहतकै महत्वपूर्ण हिस्साका रूपमा लिनुपर्ने देखिएको छ।भोटेकोशीको बाढीले एउटा कुरा फेरि स्पष्ट पारेको छ—प्राकृतिक विपद् कहिले र कुन रूपमा आउँछ भन्ने अनुमान गर्न कठिन भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना, तयारी, उद्धार क्षमता र सरकारका सबै तहबीचको प्रभावकारी समन्वय अपरिहार्य छ। बाढीले घर, खेत र सम्पत्ति बगाए पनि अब प्रभावित परिवारलाई सुरक्षित पुनर्स्थापना र भविष्यमा यस्ता विपद्बाट जोगाउने दीर्घकालीन तयारी राज्यको प्रमुख जिम्मेवारी बनेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार