• २०८३ भाद्र १८ गते बिहिवार
  • Preeti To Unicode

रसुवा बाढीमा बेवारिसे शवको पहिचान गर्न डीएनए परीक्षण प्रभावकारी

रसुवा बाढीमा बेवारिसे शवको पहिचान गर्न डीएनए परीक्षण प्रभावकारी

काठमाडौं। रसुवा बाढीमा ज्यान गुमाएका व्यक्तिमध्ये १ हजार २०४ जनाको शव प्राप्त भए पनि ९५ जनाको मात्र सनाखत भएर आफन्तले बुझेका छन्। बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का क्रममा शव छिन्नभिन्न हुने, लामो समय पानी वा माटोमा रहने तथा कुहिने भएकाले पहिचान गर्न कठिन हुने गरेको छ। यस्तो अवस्थामा मृतकको पहिचानका लागि डीएनए परीक्षण प्रभावकारी वैज्ञानिक विधि हुने विज्ञहरूले बताएका छन्।

‘डिअक्सिराइबोन्यूक्लिक एसिड’ अर्थात् डीएनए मानिसको कोषिका तथा तन्तुमा पाइने आनुवंशिक पदार्थ हो। मानव शरीरको विकास तथा विभिन्न जैविक विशेषतासँग सम्बन्धित आनुवंशिक सूचना डीएनएमा हुन्छ। प्रत्येक व्यक्तिको आनुवंशिक संयोजन फरक हुने भएकाले डीएनएलाई जैविक पहिचानको महत्वपूर्ण आधार मानिन्छ।

फरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार प्रत्येक मानवको तन्तु तथा कोषिकामा हुने जेनेटिक मेटेरियल नै डीएनए हो। क्रोमोजोमको आधारभूत पदार्थ पनि डीएनए नै भएकाले प्रत्येक व्यक्तिमा यसको आनुवंशिक संयोजन फरक हुन्छ। यही फरकपनका आधारमा डीएनए प्रोफाइलिङ गरेर एक व्यक्तिबाट प्राप्त नमुनालाई अर्को नमुनासँग तुलना गरी पहिचान गर्न सकिन्छ।

पहिचान नखुलेको शवबाट प्राप्त डीएनएलाई सम्भावित आफन्तको डीएनएसँग तुलना गरेर मृतकसँगको जैविक सम्बन्ध पत्ता लगाउन सकिन्छ। शवको सम्पूर्ण भाग नभेटिए पनि उपलब्ध जैविक तन्तुबाट परीक्षण गर्न सकिने विज्ञहरू बताउँछन्। शरीरको टुक्रा मात्रै भेटिएको अवस्थामा हड्डीको नमुना लिएर त्यसबाट समेत डीएनए प्रोफाइलिङ गर्न सकिन्छ।

डीएनए परीक्षणका लागि बुवा, आमा, छोरा वा छोरीजस्ता पहिलो तहका आफन्तको नमुना प्राथमिकतामा राखिन्छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार