काठमाडौं । रासायनिक मलको अभाव, वितरण प्रणालीमा देखिएको बेथिति तथा कृषि मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे सांसदहरूले कृषि मन्त्री र सचिवको ध्यानाकर्षण गराएका छन्। मन्त्रालयको पछिल्लो ६ महिनाको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले किसानले मल नपाउने तर मन्त्रालयको तथ्यांकमा भने पर्याप्त मल रहेको देखिने विरोधाभासबारे जवाफ माग गरेका हुन्। सांसद खगेन्द्र कर्णले मन्त्रालयमा मन्त्रीको सक्रियता देखिए पनि कामकारबाहीमा ढिलासुस्ती भइरहेको भन्दै टेन्डर प्रक्रियामा हुने ढिलाइ र मल वितरणमा भइरहेको चुहावटका कारण किसान मर्कामा परेको बताए। उनले आगामी आर्थिक वर्षमा मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मन्त्रालयको ध्यानाकर्षण गराए।सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिमलगायतका जिल्लामा किसानले भोग्नुपरेका समस्या, कृषि उपजको बजारीकरणमा देखिएका जटिलता, कृषिमा युवाको आकर्षण तथा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असरबारे प्रश्न उठाए। उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट विकसित प्रविधि किसानको खेतसम्म प्रभावकारी रूपमा पुग्न नसकेको विषयमा समेत १३ बुँदामा लिखित जवाफ माग गरे।
त्यस्तै, सांसद पुनम अग्रवाल र लक्ष्मीप्रसाद पोखरेलले सामाजिक सञ्जालमा भाइरल भएको कृषि मन्त्रालयसँग जोडिएको अडियो प्रकरणबारे समितिमा स्पष्टीकरण माग गरेका छन्। उनीहरूले नार्कको कार्यकारी निर्देशक नियुक्तिका विषयमा समेत प्रश्न उठाउँदै विवादित व्यक्तिलाई पुनः नियुक्ति गर्नुपर्ने बाध्यता के हो भनी मन्त्रीसँग जवाफ मागे। सांसद सुरेशकुमार चौधरीले भूउपयोग नीति र सिँचाइको स्पष्ट खाका नहुँदा कृषि क्षेत्र खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरे। अर्गानिक मललाई प्राथमिकता दिने निर्णय कार्यान्वयनमा मन्त्रालय उदासीन रहेको उल्लेख गर्दै उनले रासायनिक मलमाथिको निर्भरता घटाउनुपर्नेमा जोड दिए।बैठकमा सांसद सागर ढकालले समितिले साना विषयमा अल्झिनुभन्दा नीतिगत तहमा केन्द्रित भएर दीर्घकालीन कृषि सुधारका विषयमा काम गर्नुपर्ने धारणा राखे। उनले कृषि क्षेत्रका तत्कालीन समस्यासँगै दीर्घकालीन नीति, योजना र सुधारलाई प्राथमिकतामा राख्न समितिको ध्यानाकर्षण गराए।