काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले विगत दुई दशकदेखि अलपत्र अवस्थामा रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइलहरू तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शान्ति मन्त्रालय हुँदै गृह र कानुन मन्त्रालयका दराजमा थन्किएका न्यायसम्बन्धी फाइलहरू अझै प्रक्रियामा अघि बढ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। लामो समयदेखि पीडितहरू न्यायको पर्खाइमा रहेकाले यस्ता विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। उनले गृह मन्त्रालयमा विगत एक वर्षदेखि अड्किएको ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित फाइलको समेत तत्काल सुनुवाइ गर्न माग गरिन्। सरकारले सात दिनभित्र हरेक फाइल निर्णयार्थ अघि बढाउने प्रतिबद्धता जनाएको विषयलाई सकारात्मक रूपमा लिँदै सांसद बास्कोटाले प्रतिबद्धता कागजमा मात्र सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्। पीडितले न्याय पाउने गरी सरकारले प्रभावकारी कदम चाल्नेमा आफू आशावादी रहेको उनले बताइन्।