काठमाडौँ। नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले वर्तमान सरकारको सुशासनको नारा र व्यवहारबीच तालमेल नमिलेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विभिन्न सरकारी निकायमा विवादास्पद नियुक्ति, नियुक्ति प्रक्रियामा ढिलाइ तथा लामो समयसम्म निमित्त प्रमुखको भरमा कार्यालय सञ्चालन गर्ने प्रवृत्तिले सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाएको बताइन्।सांसद सिद्धिकीले सरकारी निकायमा हुने नियुक्ति प्रक्रियामा ढिलासुस्ती र चलखेल बढेको आरोप लगाउँदै नेपाल फार्मेसी परिषद्को नियुक्ति प्रक्रियालाई उदाहरणका रूपमा प्रस्तुत गरिन्। परिषद्मा नियुक्तिका लागि सूचना जारी गरी तोकिएको समयभित्र अन्तर्वार्तासमेत सम्पन्न भइसकेको अवस्थामा २१ दिन बितिसक्दा पनि नतिजा सार्वजनिक नगरिएको उनले बताइन्। पुरानो प्रक्रिया रद्द गरी नयाँ प्रक्रियामार्फत आफू निकटका व्यक्तिलाई नियुक्त गर्न खोजिएको भन्दै उनले आपत्तिसमेत जनाइन्।उनले संसद्मा प्रश्न गर्दै आफ्ना प्रिय पात्रलाई नियुक्त गराउनकै लागि प्रक्रिया लम्ब्याउने र जनतालाई झुक्याउने काम भइरहेको आरोप लगाइन्। सरकारको यस्तो कार्यशैलीलाई उनले ‘दिउँसै रात पार्ने प्रवृत्ति’को संज्ञा दिँदै प्रक्रिया मिचेर गरिने नियुक्तिले कर्मचारीतन्त्रमा समेत नकारात्मक असर पार्ने बताइन्।त्यसैगरी, कतिपय सरकारी विभागमा एउटा निमित्त प्रमुख हुँदाहुँदै अर्को निमित्त ल्याउने तथा लामो समयसम्म निमित्तकै भरमा कार्यालय सञ्चालन गर्ने प्रवृत्तिप्रति पनि उनले प्रश्न उठाइन्। यस्तो अभ्यासले सरकारको सुशासनसम्बन्धी दाबीलाई नै असान्दर्भिक बनाएको सांसद सिद्धिकीको भनाइ थियो।