काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले युवा पुस्तालाई स्वदेशमै उज्ज्वल भविष्य देखाउन ठोस कार्ययोजना र कानुनी सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराए। नेपालको शिक्षा प्रणाली र युवाको श्रम बजारबीच ठूलो खाडल रहेको उल्लेख गर्दै उनले यसलाई गम्भीर राष्ट्रिय समस्याका रूपमा प्रस्तुत गरे। राज्यले आफ्नै भूमिमा पर्याप्त रोजगारी र अवसर सिर्जना गर्न नसक्दा ठूलो सङ्ख्यामा दक्ष जनशक्ति विदेशिन बाध्य भएको उनको भनाइ थियो। विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न सके मात्र मुलुकको दिगो विकास सम्भव हुने उनले बताए। ‘नेपालले बच्चा हुर्काउँछ, पढाउँछ र योग्य बनाउँछ, तर युवा अवस्थामा पुग्दा श्रम, सीप र सपना बोकेका युवाहरू बिदेसिन बाध्य छन्। शिक्षादीक्षा नेपालमा, देश बनाउने उमेरमा विदेशमा, अनि बुढेसकाल फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ,’ उनले भने। साथै, गैरआवासीय नेपालीहरूको भावना समेट्दै वंशजका आधारमा प्राप्त नेपाली पहिचानको सम्मान गर्न, दोहोरो नागरिकताको व्यवस्था गर्न तथा डिजिटल मतदान र राजनीतिक अधिकार सुनिश्चित हुने गरी आवश्यक कानुनी सुधार गर्न पनि उनले सरकारसँग माग गरेका छन्।