काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकले जीवनभर आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माणको प्रक्रिया अघि बढाएको छ। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मन्त्रालयले यो नयाँ अवधारणा अघि सारेको हो।मन्त्रालयले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको अमूल्य बौद्धिक तथा सामाजिक सम्पत्तिका रूपमा लिएको छ। मन्त्री सिता बादीले ज्येष्ठ नागरिकका अनुभव संरक्षण र पुस्तान्तरणलाई संस्थागत बनाउन डिजिटल प्रविधिको उपयोग गरिने बताएकी छन्। उनका अनुसार यस पहलले एक पुस्ताले आर्जन गरेको ज्ञानलाई अर्को पुस्ताको मार्गदर्शनमा रूपान्तरण गर्दै अन्तरपुस्ता सम्बन्धलाई थप सुदृढ बनाउनेछ।अनुभव बैंकमार्फत ज्येष्ठ नागरिकले कृषि, उद्यम, शिक्षा, प्रशासन, कला–संस्कृति तथा परम्परागत क्षेत्रमा हासिल गरेका ज्ञान र सिकाइलाई डिजिटल माध्यमबाट अभिलेख गरिनेछ।
विद्यार्थी, युवा तथा नयाँ पुस्ताले ती अनुभवबाट निःशुल्क रूपमा मार्गदर्शन लिन सक्ने वातावरण तयार गर्ने मन्त्रालयको योजना छ। यसबाट दशकौँको अभ्यासबाट प्राप्त महत्वपूर्ण ज्ञान र सीप पुस्तासँगै हराएर जानबाट जोगिने अपेक्षा गरिएको छ।मन्त्रालयले यो अवधारणाले ज्येष्ठ नागरिकप्रतिको परम्परागत दृष्टिकोणमा समेत परिवर्तन ल्याउने विश्वास लिएको छ। ज्येष्ठ नागरिकलाई केवल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा नभई समाजका सक्रिय, सम्मानित र ज्ञानसम्पन्न साझेदारका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ।बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ र तीव्र सहरीकरणका कारण ज्येष्ठ नागरिकमा एक्लोपनलगायतका चुनौती बढिरहेका बेला उनीहरूको अनुभव सुन्ने, ज्ञानको सम्मानपूर्वक उपयोग गर्ने र निर्णय प्रक्रियामा सहभागिता गराउने वातावरण आवश्यक रहेको मन्त्री बादीको भनाइ छ। ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा लिने लाभग्राहीका साथै नयाँ पुस्तालाई मार्गदर्शन गर्ने ज्ञानदाताका रूपमा स्थापित गर्दै उनीहरूको जीवनलाई मर्यादित र अर्थपूर्ण बनाउन ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ले महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयको विश्वास छ।