• २०८३ असोज १६ गते शुक्रवार
  • Preeti To Unicode

जितिया पर्व : सन्तानको दीर्घायु र मातृममतासँग जोडिएको संस्कृति

जितिया पर्व : सन्तानको दीर्घायु र मातृममतासँग जोडिएको संस्कृति

नेपाल। नेपालमा विभिन्न जातजाति तथा समुदायले आफ्ना मौलिक चाडपर्व, संस्कार, रीतिरिवाज र संस्कृति मनाउँदै आएका छन्। यिनै विविध सांस्कृतिक परम्पराले नेपालको पहिचानलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। तराई–मधेस क्षेत्रमा मनाइने प्रमुख चाडपर्वमध्ये जितिया पर्व पनि एक हो। विशेषगरी महिलाले सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै कठोर व्रत बस्ने भएकाले जितियाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ। यो पर्व थारू समुदायलगायत तराई–मधेसका विभिन्न समुदायमा परापूर्वकालदेखि मनाउँदै आएको पाइन्छ।जितिया व्रतको धार्मिक कथा जिमुतवाहनसँग जोडिएको छ। पौराणिक कथाअनुसार शालिवाहनका पुत्र जिमुतवाहन महादेवका भक्त थिए र उनले वरदान प्राप्त गरेका थिए। नियम, निष्ठा र श्रद्धापूर्वक जितिया व्रत बस्ने महिलाका सन्तान दीर्घायु हुने विश्वास रहिआएको छ। यसै विश्वासका आधारमा महिलाले सन्तानको रक्षा र दीर्घायुका लागि यो कठोर व्रत गर्दै आएका छन्।जितियासँग जोडिएको अर्को प्रसिद्ध कथा चिल र स्यालको हो। नर्मदा नदीको किनारमा रहेको एउटा पाकरीको रूखमा चिल र स्याल बस्थे। व्रतालु महिलाले जिमुतवाहनको पूजा गरी कथा सुनेको देखेर उनीहरूलाई पनि व्रत बस्ने इच्छा भयो। दुवैले व्रत सुरु गरे पनि राति नदी किनारमा मृत व्यक्तिको दाहसंस्कार भएको देखेपछि स्याललाई मासु खाने इच्छा भयो। उसले व्रत तोडेर मासु खायो भने चिलले आफ्नो व्रत निरन्तरता दिइरह्यो। केही समयपछि दुवैको मृत्यु भयो र उनीहरू अर्को जन्ममा दुई दिदीबहिनीका रूपमा जन्मिए। चिल शिलावती र स्याल कर्पुरावतीका रूपमा जन्मिएको कथामा उल्लेख छ।

शिलावतीका सात छोरा भए भने कर्पुरावतीका सन्तान जन्मिएर पनि मृत्यु हुँदै गए। एकपटक दुवै दिदीबहिनीले जितिया व्रत बसेका बेला कर्पुरावतीले ईर्ष्याका कारण शिलावतीका सातै छोराको टाउको काटेर डालीमा राखिदिइन्। तर शिलावतीले व्रत नतोडेकाले व्रतको प्रभावबाट उनका छोराहरू जीवित भएको र डालीमा टाउकाको ठाउँमा नरिवल भेटिएको कथा प्रचलित छ। यस कथाले व्रत लिइसकेपछि निष्ठापूर्वक पूरा गर्नुपर्छ भन्ने धार्मिक विश्वासलाई बल दिएको छ।जितिया व्रतको आफ्नै विशेष विधि रहेको छ। व्रतको अघिल्लो दिन महिलाले बिहानै उठेर घर–आँगन सफा गरी चोखो बनाउँछन्। त्यसपछि समूहमा पोखरी, नदी वा जलाशयमा गएर स्नान गर्छन्। पिना, तेल, घिरौलाको पात, जियलको पात, बाँसको पात र नयाँ लुगालगायत सामग्री लिएर जाने तथा पितृ र जिमुतवाहन देवतालाई पूजा तथा प्रसाद चढाउने चलन छ। व्रतको दिन महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिई व्रतको सङ्कल्प लिन्छन्। साथै दिवङ्गत हजुरआमा, सासूआमा लगायत तीन पुस्तासम्मका पितृ महिलालाई तर्पण दिने परम्परा पनि रहेको छ।व्रतको अघिल्लो दिन बेलुका विभिन्न परिकार, दही, मिठाइ, माछा तथा कोदोको रोटी खाने चलन छ। व्रतको दिन बिहानै घिरौलाको पातमा दही, चिउरा, चिनी, केरा, मिठाइ, पान र सुपारीलगायत सामग्री पितृ तथा जिमुतवाहनलाई चढाइन्छ। बेलुकी व्रतालु महिलाले आफ्ना छोराको सङ्ख्याअनुसार नरिवल, फलफूललगायत पूजाका सामग्री डालीमा राख्छन्। उक्त डालीलाई मानको पातले छोपिन्छ। व्रतको समय पूरा भएपछि घरका छोरा वा नातिले डाली खोल्ने र प्रसाद निकालेर पुनः पितृ तथा जिमुतवाहनलाई चढाउने गरिन्छ। त्यसपछि प्रसाद सबैलाई बाँडेर व्रतालुले पानी पिउने तथा खाना खाने चलन छ।जितिया पर्व धार्मिक आस्था र मातृममतासँग जोडिएको भए पनि यसका केही सामाजिक चुनौतीसमेत छन्। विशेषगरी गर्भवती महिलाले पनि लामो समयसम्म पानीसमेत नखाई व्रत बस्नुपर्ने अवस्था आउन सक्ने भएकाले स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन सक्ने जोखिम रहन्छ। व्रत तोड्दा सन्तानलाई केही हुन्छ कि भन्ने डरका कारण कतिपय महिला स्वास्थ्यमा समस्या हुँदासमेत व्रत जारी राख्ने गर्छन्। यसले धार्मिक आस्था र महिलाको स्वास्थ्यबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखाउँछ।

त्यस्तै, जितियामा छोराको दीर्घायुका लागि व्रत बस्ने र डाली खोल्ने काम प्रायः छोरा, नाति वा पुरुषबाट गराउने परम्परा रहेको पाइन्छ। कतिपय परिवारमा छोरी वा नातिनीलाई डाली खोल्न नदिने चलनसमेत रहेको छ। यसले छोरा र छोरीबीच विभेद गर्ने सामाजिक सोचलाई निरन्तरता दिन सक्ने भएकाले परम्परालाई समयअनुसार समानतामूलक बनाउनु आवश्यक देखिन्छ।यद्यपि जितिया पर्वका धेरै सकारात्मक पक्ष पनि छन्। यस पर्वले महिलाबीच आपसी सद्भाव, सहयोग र आत्मीयता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। वर्षौँदेखि भेट नभएका आफन्त, साथीभाइ तथा छिमेकीबीच भेटघाट हुने, शुभकामना आदानप्रदान गर्ने र सामूहिक रूपमा दर खाने परम्पराले सामाजिक सम्बन्धलाई अझ बलियो बनाएको छ। जितियासम्बन्धी गीत, कथा तथा सांस्कृतिक प्रस्तुतिमार्फत महिलाले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरसमेत पाउन थालेका छन्।जितियामा जियल, बाँस र घिरौलालगायत वनस्पतिका पातलाई पूजामा प्रयोग गर्ने परम्पराले प्रकृति र पर्यावरणप्रति सम्मान गर्नुपर्ने सन्देशसमेत दिन्छ। साथै सोह्रश्राद्धको समयसँगै पर्ने भएकाले महिलाले पितृप्रति श्रद्धा व्यक्त गर्ने र तर्पण तथा प्रसाद चढाउने परम्पराले महिलाको धार्मिक तथा पारिवारिक भूमिकालाई पनि उजागर गरेको छ। यस अर्थमा जितिया केवल सन्तानको दीर्घायुका लागि गरिने व्रत मात्र नभई सामाजिक एकता, मातृममता, पितृसम्मान र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व हो।समयसँगै समाज परिवर्तन भइरहेकाले जितियाका मौलिक धार्मिक तथा सांस्कृतिक पक्षलाई संरक्षण गर्दै स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक समावेशितालाई पनि ध्यान दिन आवश्यक छ। परम्पराको सम्मानसँगै अस्वस्थकर वा विभेदकारी अभ्यासलाई सुधार गर्दै अघि बढ्न सके जितिया पर्वले नेपाली समाजको विविधता, एकता र सांस्कृतिक समृद्धिलाई अझ बलियो बनाउन सक्छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार