• २०८३ असोज १६ गते शुक्रवार
  • Preeti To Unicode

चाडपर्व लक्षित काठमाडौंमा विशेष सुरक्षा योजना, ३ हजार ५०६ सुरक्षाकर्मी परिचालन हुने

चाडपर्व लक्षित काठमाडौंमा विशेष सुरक्षा योजना, ३ हजार ५०६ सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । बडादशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित, मर्यादित र सुव्यवस्थित वातावरण कायम गर्न जिल्लाभर ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन्। असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने सुरक्षा योजनाअन्तर्गत आवश्यकताअनुसार थप १९० जनाको रिजर्भ टोलीसमेत परिचालन गरिनेछ। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सीसीटीभी क्यामेरा र तीनवटा ड्रोनमार्फत निगरानी गरिनेछ। प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको टोलीले नियमित डग स्निफिङ गर्नेछ भने सामाजिक सञ्जालमार्फत हुने ठगी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि छुट्टै डेस्क सञ्चालन गरिने प्रहरीले जनाएको छ।

घटना भएको सूचना प्राप्त भएपछि ५ देखि १० मिनेटभित्र घटनास्थलमा प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्थापन गरिएको छ। प्रहरीले पीपीईआई (Promotional, Preventive, Enforcement, Innovation) मोडलमा आधारित सुरक्षा रणनीति अपनाउँदै मोबाइल तथा पैदल गस्ती, क्युआरटी, सीआरभी, सादा पोशाकका प्रहरी परिचालन, सीमा नाकामा कडा चेकजाँच तथा ट्राफिकसहितको संयुक्त चेकिङ गर्नेछ। मन्दिर, खसी बजार, सपिङ मल, वित्तीय संस्था तथा एटीएम बुथमा समेत विशेष सुरक्षा ड्युटी रहनेछ। चाडपर्वमा यात्रुहरूको सहज आवतजावतका लागि कलंकी, कोटेश्वर, गौशाला, गोंगबु बसपार्क, बिजी मल अगाडि, बल्खु, सुरुङ मार्ग, नागढुंगा, बालाजु बाइपास, बालाजु चोक, सीतापाइला, जोरपाटी र चाबहिल चोकलगायत १४ स्थानमा यात्रु सहायता तथा हेल्प डेस्क स्थापना गरिनेछ। यसका अतिरिक्त २५ वटा सामुदायिक सेवा केन्द्रमार्फत नागरिकलाई सहायता प्रदान गरिनेछ।

प्रहरीले चाडपर्वका अवसरमा घर छाडेर गाउँ जाने नागरिकलाई घरको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन, बहुमूल्य गरगहना, नगद तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा राख्न र घरका ढोका–झ्याल राम्रोसँग बन्द गर्न आग्रह गरेको छ। त्यस्तै जुवा, तास तथा लङ्गुरबुर्जा नखेल्न, पटका तथा आतसबाजीको प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र अपरिचित व्यक्तिमाथि सहजै विश्वास नगर्न प्रहरीले अनुरोध गरेको छ। सामाजिक सञ्जालमा आउने ‘लक्की अफर’, ‘उपहार जितियो’ तथा ‘छिटो कमाइ’ जस्ता प्रलोभनबाट हुने ठगीबाट समेत सचेत रहन आग्रह गरिएको छ। कुनै शंकास्पद गतिविधि देखिएमा वा समस्या परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार