काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा तथा तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार बस्ने बैठकमा सरकारको कामकारबाहीको समीक्षा गर्दै पार्टी अध्यक्ष प्रभु साहले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफल गर्नुका साथै समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय गरिने आजपा प्रवक्ता सुभाष साहले जानकारी दिएका छन्। बैठकमा विदेशी एजेण्टबाट देश बचाउने, सैनिक हस्तक्षेपबाट लोकतन्त्र जोगाउने, फेक शासनको अन्त्य गर्ने तथा जनविरोधी गतिविधिविरुद्ध आवाज उठाउने विषयमा समेत छलफल हुने बताइएको छ। साथै मूल्यवृद्धि, कालोबजारी, कर आतंक, मलखादको अभाव तथा बाढीपीडितको पुनर्स्थापना र पुनर्निर्माणलगायतका विषयमा छलफल गरी आवश्यक निर्णय लिइने जनाइएको छ।