काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ। असोज १८ देखि २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। महाधिवेशनको उद्घाटन आज हुनेछ भने असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ। देशभर परेको निरन्तर वर्षाका कारण यसअघि असोज १६ गतेका लागि तय गरिएको महाधिवेशन केही दिन पछि सारिएको हो।महाधिवेशनमा देशभरबाट करिब सात हजार सात सय प्रतिनिधि सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमा पहिलोपटक यति ठूलो सङ्ख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएको पार्टीले जनाएको छ। महाधिवेशन व्यवस्थापनका लागि विभिन्न १५ वटा समिति गठन गरी तयारी अघि बढाइएको छ। खुलामञ्चमा उद्घाटन तथा बन्दसत्रका लागि छुट्टाछुट्टै संरचना निर्माण गरिएको छ भने मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्रसमेत स्थापना गरिएको छ।महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै सञ्चालन हुनेछ। ठूलो सङ्ख्यामा प्रतिनिधि सहभागी हुने भएकाले बन्दसत्रका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ नामका तीन ठूला हल निर्माण गरिएको छ। भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी ती हलमा प्रतिवेदनमाथि छलफल गराइनेछ। डिजिटल बोर्डमार्फत सहभागीले प्रस्तुत प्रतिवेदन हेर्न तथा सुन्न सक्ने व्यवस्था गरिएको पार्टी प्रवक्ताले जानकारी दिएका छन्।
उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तथा अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत नेताहरूलाई उद्घाटन समारोहमा आमन्त्रण गरिएको छ।ऐतिहासिक टुँडिखेल क्षेत्रमा महाधिवेशन आयोजना भएकाले यसलाई कांग्रेसले विशेष महत्व दिएको छ। कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलका रूपमा टुँडिखेल परिचित छ। यसै क्षेत्रमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए।यसपटकको महाधिवेशनमा प्रचारप्रसारमा समेत नयाँ शैली अपनाइएको छ। रसुवाको भोटेकोशी नदीमा आएको प्राकृतिक विपद्का कारण मुलुक शोकमा रहेकाले तडकभडकपूर्ण प्रचार नगर्ने कांग्रेसले जनाएको छ। महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायतका प्रिन्ट सामग्रीमा प्रतिबन्ध लगाइएको छ। काठमाडौं उपत्यका तथा प्रमुख सहरमा रहेका डिजिटल बोर्डमार्फत मात्रै महाधिवेशनसम्बन्धी सूचना र सन्देश प्रवाह गरिएको छ।
नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बन्नेछ। त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीको संख्या पनि आठबाट बढाएर ११ पुर्याइएको छ। यसैगरी ३५ वर्षमुनिका युवालाई नेतृत्वमा ल्याउन २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ भने पार्टीका विभिन्न तहमा महिलाको कम्तीमा एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।महाधिवेशनले राजनीतिमा सक्रिय परम्परागत कार्यकर्तासँगै विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई समेत पार्टी नेतृत्वमा ल्याउने बाटो खोलेको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट आएका प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्वलाई समेत सुनिश्चित गरिएको छ।महाधिवेशनका लागि प्रतिनिधिको आवास व्यवस्थापन काठमाडौंका विभिन्न क्षेत्रमा गरिएको छ। एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा आवासको व्यवस्था गरिएको छ भने बिहान, दिउँसो र साँझको भोजन भृकुटीमण्डपमा उपलब्ध गराइनेछ। प्रतिनिधि तथा सहभागीका सवारीसाधनका लागि धरहरा अन्डरग्राउन्ड पार्किङ, पुरानो बसपार्क, राष्ट्रिय सभागृह, भृकुटीमण्डप, प्रज्ञा प्रतिष्ठानलगायत आठ स्थानमा पार्किङको व्यवस्था गरिएको छ।महाधिवेशन स्थलमा स्वास्थ्य सेवाका लागि ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गरिएको छ। पाँचवटा स्टलमार्फत सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक सेवा प्रदान गरिनेछ। आवश्यक परे प्रतिनिधिलाई वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा बिपी स्मृति अस्पताल लैजाने व्यवस्था गरिएको छ भने महाधिवेशन स्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।कांग्रेसले यसपटक विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरे पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतदान प्रणालीमै जाने निर्णय गरेको छ। महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुधार तथा नयाँ पुस्ताको भूमिकाबारे समेत महत्वपूर्ण बहस हुने अपेक्षा गरिएको छ।